गरिमा हत्या प्रकरणपछि सिमराका डीएसपी क्षेत्री फिर्ता, नयाँ जिम्मेवारीमा भट्ट

सिमरा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका बेला बाराको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको छ। प्रहरी प्रधान कार्यालयले क्षेत्रीलाई फिर्ता बोलाउँदै उनको स्थानमा डीएसपी दयाकृष्ण भट्टलाई सिमरा पठाउने निर्णय गरेको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले क्षेत्रीको काज फिर्ता गरी भट्टलाई सिमराको जिम्मेवारी दिने निर्णय गरेका हुन्। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ। यसअघि भट्ट प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।
डीएसपीको जिम्मेवारी परिवर्तनलाई सिमरामा पछिल्लो समय चर्किएको प्रहरीप्रतिको असन्तुष्टिसँग जोडेर हेरिएको छ। साउन ३१ गतेदेखि हराइरहेकी तीन वर्षीया गरिमा चौधरी भदौ २ गते जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरी अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको जनाएको छ।
तर, बालिका हराएपछि परिवार तथा स्थानीयले प्रहरीलाई जानकारी गराउँदा समयमै खोजतलास र अनुसन्धान नभएको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका थिए। घटनापछि स्थानीयले प्रदर्शन गर्दै प्रहरीको कार्यशैलीप्रति आक्रोशसमेत व्यक्त गरेका थिए।
घटनाले राजनीतिक तहमा समेत प्रवेश पाएपछि प्रतिनिधिसभाका सदस्यहरूले पनि सिमराका प्रहरी प्रमुखको भूमिकाबारे प्रश्न उठाएका थिए। बढ्दो जनदबाब र प्रहरीको कार्यसम्पादनमाथि उठेको प्रश्नकै बीच डीएसपी क्षेत्रीलाई फिर्ता बोलाउने निर्णय भएको देखिन्छ।
यद्यपि, प्रहरी प्रधान कार्यालयले क्षेत्रीलाई जिम्मेवारीबाट हटाउनुको औपचारिक कारण गरिमा चौधरी हत्या प्रकरण नै भएको स्पष्ट रूपमा जनाएको छैन। काज सरुवाको निर्णयसँगै अब नयाँ डीएसपी भट्टसमक्ष सिमरा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउने र प्रहरीप्रति स्थानीयस्तरमा बढेको अविश्वास कम गर्ने चुनौती थपिएको छ।
गरिमा प्रकरणमा अनुसन्धान अघि बढिरहेकाले घटनाको वास्तविकता र प्रहरीको प्रारम्भिक भूमिकाबारे थप तथ्य सार्वजनिक हुन बाँकी छ। नयाँ नेतृत्व आएपछि घटनाको अनुसन्धान र प्रहरीको कार्यशैलीप्रति स्थानीयको अपेक्षा पनि बढेको छ।





