समाचार प्रकाशन पछि वीरगंजका नगरप्रमुख सिंह माथि कारवाहीको माग गर्दै जाहेरी दर्ता

कलैया- वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेश मान सिंह माथि कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । मेयर सिंहले किर्ते तवरमा रुबिना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो नक्कली छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको समाचार मंगलवार बिहान सिधाकुरा डटकम,शुभम सन्देश डटकम लगायतका अनलाईनहरुले बाहिर ल्याएपछि जाहेरी दरखास्त दर्ता गरिएको छ । मंगलवार दिउँसो नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहबुदिनले नगर प्रमुख सिंह माथि जाहेरी दरखास्त दर्ता गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा नगर प्रमुख सिंह माथि जाहेरी दरखास्तको दर्ता नम्बर १३२५ रहेको छ । नेपालको नागरिकतासम्बन्धी कानुनको बिरुद्ध हुनेगरी मेयर सिंह आफैँ नक्कली बाबु बनेर अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर वंशजको नागरिकता दिलाएका हुन ।
राजेशमानकै श्रीमती अन्नपुर्ण मानन्धरका अनुसार राजेशमान र उनको एउटा मात्रै छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा बाबुका रुपमा उपस्थित भएर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका थिए । अवैध नागरिकता लिएकी युवती भने पासपोर्ट बनाएर विदेश पुगेको प्रमाण एक मिडिया हाउसले प्राप्त गरेको छ । नागरिकता ऐनअनुसार कुनै पनि व्यक्तिले वंशजको नागरिकता लिँदा बाबु वा आमाको नागरिकताको परिचयपत्र खुलाउनुपर्छ । तर, मेयर सिंहले वडादेखि गृह प्रशासनसम्म सेटिङ मिलाएर ति युवतीलाई नक्कली बाबु बनेर नागरिकता दिलाएका थिए । वीरगंज महानगरको मेयरमा निर्वाचित भएपछि सिंहले नागरिकता किर्ते लुकाउन वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मका लिखत नै गायब पारेका छन् ।

पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको डाटाअनुसार २०७५ साउन १३ गतेको क्रमसंख्या ३ मा नागरिकता नम्बर ३४–०१–७५–८८८४७ राखिएको छ । जसमा नागरिकता लिने व्यक्ति २०५९ असार ३० गते जन्मिएकी रुबिना श्रेष्ठ हुन् । नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३८८८१७ उल्लेख रहेको छ । नागरिकता लिनेको औँठा छापसँगै रुबिनाको तस्विर पनि टाँसिएको छ । यो सँगै बाबुको नाममा राजेशमान सिंह राखेर रुबिना श्रेष्ठका नाममा तत्कालिन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले नागरिकता जारी गरिदिएको विवरण प्राप्त भएको छ ।
डाटामा आमाको नाम भने उल्लेख गरिएको छैन । नागरिकता जारी भएको १० दिनपछि सोही नागरिकताका आधारमा राहदानी विभागले ११०८८८१७ नम्बरको राहदानी जारी गरिदिएको छ । पहिलो पटक नागरिकता जारी भएको १९ महिनापछि रुबिनाले प्रतिलिपी निकालेकी छिन् । २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले प्रतिलिपि दिएका छन् । राजेशमान सिंहले बाबु बनेर रुबिना श्रेष्ठलाई नागरिकता दिलाउनका लागि प्रक्रियागत रुपमा सबै कागजपत्र पुरा गरेका छन् । तर, उनी स्वयंम रुबिनाको बाबु भने नभएको स्थानीय जनप्रतिनिधि र मेयर सिंहका छिमेकीहरु बताउँछन् । त्यसो त मेयर सिंहकै श्रीमतीले नै आफ्नो कुनै छोरी नभएको स्वीकार गरेकी छिन् ।
वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी भुपेन्द्रमान सिंह र रुकमेनी देवी श्रेष्ठको एक छोरी र दुई छोरामध्ये जेठो छोरा शैलेसमान सिंह र कान्छो राजेशमान सिंह हुन् । २०२७ सालमा जन्मिएका राजेशमान सिंहकी एक मात्रै श्रीमती अन्नपुर्ण मानन्धर हुन् । श्रीमती अन्नपुर्ण मानन्धरका अनुसार उनीहरुको सन्तानको नाममा एउटा छोरा मात्रै छन् ।
रुबिनालाई नागरिकता दिनका लागि वीरगंज महानगरपालिका वडा न. ३ ले सिफारिस दिएको छ । नागरिकताको सिफारिस दिँदाको समय समेत वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताको सिफारिस भने उनलाई बिदा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालिन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए । वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गरे । ‘मेरो वडाबाट सिफारिस भएको बारेमा मलाई थाहा छैन्’ उनले दाबी गरे ।तर, मेयर सिंहको छोरा भएको तर छोरी भने नभएको भने उनले पनि बताए ।


यही वडा कार्यालयको सिफारिसको आधारमा रुबिना श्रेष्ठलाई नागरिकता दिएको देखिएको पर्साका पूर्व प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी बताउँछन् । रेग्मीका अनुसार वडाको सिफारिस सहित रुबिना आफ्नी छोरी भएको भन्दै मेयर सिंह नै नागरिकता बनाउन प्रशासन कार्यालय पुगेका थिए । त्यसो त जिल्ला प्रशासन कार्यालयबाट समेत नागरिकता बनाउन पेश गरिएको कागजपत्र गायब पारिएको छ । पर्सा प्रशासनका अभिलेख शाखा हेर्ने दुर्गा प्रसादका अनुसार २०७५ साल साउन १३ गते जारी भएको नागरिकताको रेकर्ड जिल्ला प्रशासन कार्यालयमा छैन । बाहिर पोकामा साउनको फाईल लेखिएको छ । भित्र खोल्दा साउनको सबै रेकर्डहरु छन् तर जुनदिन रुबिनाको नागरिकता जारी भएको छ, त्यस दिनको मिसिल छैन । दुर्गा प्रसादका अनुसार १२ र १३ गतेको मिसिल प्रतिलिपि शाखामा समेत छैन,’ दुर्गा प्रसादले भने ।
नागरिकतासम्बन्धी सम्पूर्ण कागजपत्रको विवरण गृहमन्त्रालय मातहतको अनलाईन सफ्टवेयरमा पनि राखिएको हुन्छ । गृह मन्त्रालयको नागरिकता शाखा र सम्बन्धित जिल्ला प्रसाशनका अधिकारीहरुले मात्रै डाटा राख्न र हेर्न सक्ने सिटिजनसिप इनफरमेसन म्यानेजमेन्ट सिस्टम (सिआइएमस) मा भएको विवरण देखाउन समेत जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारीले नमानेको सिधाकुरा डटकम टिमको दाबी रहेको छ ।
दुई साताअघि मात्रै पर्साका प्रमुख जिल्ला अधिकारी बनेर पुगेका सहसचिव दिनेशसागर भुषालले पनि मेयर सिंहले नक्कली बाबु बनेर एक किशोरीलाई नागरिकता दिएको विषय जानकारीमा आएको बताए । ‘एक किशोरीको बाबु बनेर नागरिकता दिएको जानकारीमा आएको छ,’ भुसालले भने ‘सरुवा भएको केही दिन मात्रै भएकाले थप अध्ययन गर्न पाएको छैन । यही सूचनाको आधारमा अनुसन्धान अघि बढ्छ । त्यसो त, निर्वाचन आयोगमा मेयर सिंहले बनाएको मतदाता परिचय पत्रमा उल्लेख नागरिकता नम्बर र नागरिकता पाएकी युवती रुबिना श्रेष्ठको नागरिकतामा उल्लेख बाबुको नागरिकता नम्बर समान हुनुले पनि मेयर राजेशमानले नागरिकता किर्ते गरेकामा आशंका नै छैन ।
राजेशमान सिंहलाई बाल्यकालदेखि नै चिनेजानेका आफन्त छरछिमेकीदेखि उनका सहकर्मीहरुले समेत उनका सन्तानका रुपमा एउटा मात्रै छोरा भएको बताउँछन् । राजेशमानकै छिमेकी समेत रहेका वडा न.३ का पूर्व वडा अध्यक्ष अनवर हुसेनलाई राजेशमानको पारिवारिक अवस्थाका बारेमा राम्रो जानकारी छ । २०५४ सालमा उनी वडा अध्यक्ष हुँदा राजेशमान वडा सदस्य निर्वाचित भएका थिए । हुसेनका अनुसार राजेशमानको छोरी भएको कहिल्यै थाहा भएन । पछिल्लो समय राजेशमानले बाहिरको युवतीलाई छोरी भनेर नागरिकता दिएको जानकारी पाएका छन ।
‘२०५४ सालमा निर्वाचित हुदाँ उहाँ मेरो वडा सदस्य हुनुहुन्थ्यो । उहाँको बाबुको नाममा नाम शम्भुमान श्रेष्ठ हो । रेडियो मिस्त्री शम्भुमानका दुई छोरामध्ये राजेशमान कान्छो हुन् । उनका दाजु शैलेशमान सिंह हुन्,’ हुसेन भन्छन्, ‘राजेशमान जीको एक श्रीमती र एक छोरा मात्रै छन् । छोरी उनको फिटिक्कै छैन्, छँदै छैन, ।
राजेशमानले छोरी बनाएर अरुलाई नागरिकता दिएको विषयमा हुसेनले पनि सुनेका रहेछन्, उनी भन्छन् ‘मैलेपनी गाईगुँई सुनिरहेको छु, नक्कली बाउ बनेर एकजना महिलाको नागरिकता बनाउनु भएको छ । मेयर जस्तो गरिमामय पदमा रहेका व्यक्तिले अर्काको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता बनाउनु भएको छ भने अरुले के गर्लान् ? यो निन्दनीय कुरा हो, कानुन अनुसार कारबाही हुनुपर्छ,’ हुसेनले भने । क्रमशः स्थानीय अलियास मियाँ अन्सारी, ल्याकत अली, पूर्व वडा अध्यक्ष अनवर हुसेन र स्थानीय मोहम्मद साबुदिन हुसेन मात्रै होइन, राजनीतिमा राजेशमानका सहयोगी बनेर १० वर्षसँगै हिँडेका वडा न. ३ कै ल्याकत अलीले पनि राजेशमानको एउटा मात्रै छोरा भएको बताउँछन् । उनलाई पनि राजेशमानले नक्कली बाबु बनेर अर्कै युवतीलाई नागरिकता दिएको बारे जानकारी रहेछ ।
उनले ऐन कानुन सबैलाई बराबर लाग्नु पर्ने भन्दै मेयरमाथि कारवाही हुनुपर्ने बताए । ‘राजनीतिमा राजेशमान सिंहसँग १० वर्ष सँग–संगै हिँडेको हो । उनको परिवारमा सन्तानका रुपमा एउटा छोरा मात्रै छ, तर अर्की युवतीको बाउ बनेर नागरिकता दिएका छन्,’ ल्याकत अली भन्छन्, ‘सामान्य व्यक्तिले सानो गल्ती गर्दा सबै ऐन नियम लाग्ने तर मेयर पदमा आसिन रहेका व्यक्तिले नक्कली बाबु बनेरनागरिकता बनाउँदा राज्य मौन देखिएको छ ।’

अर्का स्थानीय अलियास मियाँ अन्सारीले त आफ्नै गाउँ ठाउँको मान्छेलाई आफुले नचिने कसले चिन्छ भन्दै राजेशमानको एउटा छोरा र एक श्रीमती मात्रै रहेको बताए । ‘अहिले एक छोरी कसरी आयो मलाई जानकारी भएन, राजनीतिक पदमा भएका व्यक्तिहरुले भाई, छोरा, छोरी सिफारिस गरेर अधिकारको दुरुपयोग गरेको त सुनेको छ । मियाँले भने राजेशमानलाई पनि कारवाही हुनुपर्छ,’ उनले भने ।
महानगरपालिकाको मेयरले नै नागरिकता किर्ते गर्नु फैजदारी अभियोग हुने नागरिकता कानुनका ज्ञाता बालकृष्ण न्यौपाने बताउँछन् । वरिष्ठ अधिवक्ता न्यौपानेले नागरिकता ऐन विपरितत फर्जी कागजपत्र बनाएर नागरिकता लिने छोरी, बाबु बनेर सनाखत दिने मेयर सिंह र नागरिकता जारी गर्ने अधिकारीहरुलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र जरिवाना हुने बताए ।
‘यो विषय नागरिकता किर्ते हो । यसरी नागरिकता लिने र दिने दुवै कानुनको नजरमा दोषी हुन्छन्,’ वरिष्ठ अधिवक्ता न्यौपाने भन्छन्, ‘अझ नागरिकता पाउने व्यक्ति विदेशी मुलुकको हो भने सजाय अझै कडा हुन्छ ।’ नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा मेयर सिंहले भने स्पष्ट जवाफ दिन सकेनन् । अत्यन्तै व्यक्तिगत कुरालाई उचालेर राम्रो काम गरिरहेको आफूलाई हतोत्साही बनाउन खाजेको मेयर सिंहले आरोप लगाए ।





