सिम्रौनगढ छोटी भन्सार पुनः सञ्चालन गराउन ज्ञापनपत्र

बारा । लामो समयदेखि बन्द रहेको सिम्रौनगढ छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्न सिम्रौनगढ नगर उद्योग वाणिज्य संघले माग गरेको छ। संघले जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छवि रमन भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै छोटी भन्सार सञ्चालनसँगै यसको स्तरोन्नति र नेपाल–भारतबीचको आवागमन सहज बनाउन आग्रह गरेको हो।
संघका अध्यक्ष जयन्त कुमार कुशवाहाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सिम्रौनगढ छोटी भन्सार विगतमा सञ्चालनमा रहे पनि विभिन्न कारणले बन्द हुँदै आएको उल्लेख गरिएको छ। कोभिड–१९ को महामारीपछि पुनः सञ्चालनमा आएको भन्सार कार्यालयका कर्मचारी एक्कासि सम्पर्कविहीन भएपछि भन्सार सेवा प्रभावित भएको संघको भनाइ छ।
भन्सार सञ्चालन नहुँदा सिम्रौनगढ क्षेत्रका स्थानीय व्यवसायी, किसान तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख छ। भन्सार नहुँदा व्यापारिक गतिविधि खस्किनुका साथै स्थानीय व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको संघले जनाएको छ।
सिम्रौनगढ धार्मिक, ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले नेपाल–भारतबीच सहज आवागमनको व्यवस्था गर्नुपर्ने संघको माग छ। भारतबाट जिप, कार, मोटरसाइकल लगायतका सवारीसाधनमार्फत पर्यटक तथा सर्वसाधारण सिम्रौनगढ आउने वातावरण बनाउन सके स्थानीय व्यापार तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने संघको विश्वास छ।
संघले ज्ञापनपत्रमार्फत सिम्रौनगढ छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने, भन्सारलाई स्तरोन्नति गरी क्वारेन्टाइन ल्याबको व्यवस्था गर्नुपर्ने तथा नेपालबाट भारत र भारतबाट नेपाल आउने–जाने सवारीसाधनको आवागमन सहज बनाउनुपर्ने तीन प्रमुख माग अघि सारेको छ।
ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय बारा, वीरगञ्ज भन्सार कार्यालय पर्सा, इलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा सशस्त्र प्रहरी बलका सम्बन्धित युनिटहरूलाई समेत दिइएको छ।
संघले छोटी भन्सार तत्काल सञ्चालनमा ल्याउन सके सिम्रौनगढको व्यापारिक गतिविधि चलायमान हुनुका साथै स्थानीय रोजगारी, पर्यटन र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने जनाएको छ।






