महँगी, लोडसेडिङ र सरकारी सेवा प्रवाहप्रति नेकपा बाराको आपत्ति, सीडीओमार्फत सरकारको ध्यानाकर्षण

बारा । जिल्लामा बढ्दै गएको महँगी, विद्युत् कटौती, अत्यावश्यक वस्तुको अभाव तथा सरकारी कार्यालयबाट नागरिकले सहज सेवा पाउन नसकेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बारा जिल्ला समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेकपा बारा जिल्ला समितिले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई ज्ञापनपत्र बुझाउँदै जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्याको तत्काल समाधान गर्न माग गरेको हो । जिल्ला संयोजक गीता कँडेलको हस्ताक्षर रहेको ज्ञापनपत्रमा पछिल्लो समय देश संकट र जटिल अवस्थामा पुगेको तथा जनताले अपेक्षाअनुसार न्यूनतम सेवा–सुविधासमेत पाउन नसकेको उल्लेख गरिएको छ ।
नेकपाले सरकारका दैनिक गतिविधि तथा कामकारबाहीप्रति आम नागरिकमा निराशा बढ्दै गएको दाबी गर्दै जनताका आधारभूत समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
ज्ञापनपत्रमार्फत नेकपाले किसान तथा कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक मल सहुलियत मूल्यमा सहज रूपमा उपलब्ध गराउन माग गरेको छ । त्यस्तै, सर्वसाधारण तथा होटल व्यवसायीलाई आवश्यक पर्ने ग्यास सिलिन्डरको अभाव अन्त्य गरी सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।
जिल्लामा सामान्य अवस्थामा समेत दैनिक १५ देखि २० पटकसम्म विद्युत् जाने समस्या देखिएको भन्दै नेकपाले अनावश्यक विद्युत् कटौती तत्काल अन्त्य गर्न माग गरेको छ । विद्युत् कटौतीका कारण सर्वसाधारण, व्यवसायी तथा उद्योगीसमेत प्रभावित भएको पार्टीको भनाइ छ ।
सरकारी कार्यालयबाट नागरिकलाई दिइने सेवामा ढिलासुस्ती र लापरबाही भइरहेको गुनासो आएको भन्दै मालपोत, नापी, जिल्ला प्रशासन, यातायातलगायत कार्यालयमा सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउन पनि माग गरिएको छ ।
यसैगरी सरकारी अस्पतालमा हप्ताको दुई दिन बिदा दिने व्यवस्था हटाई जनतालाई चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन नेकपाले माग गरेको छ । जिल्लामा सर्पदंश उपचार केन्द्रको प्रभावकारी व्यवस्था तथा आवश्यक औषधि र उपकरणको सहज उपलब्धता सुनिश्चित गर्नसमेत आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा जिल्लाभर रेबिज भ्याक्सिनको अभाव देखिएको भन्दै तत्काल सहज उपलब्धताको व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेकाले बजार अनुगमनलाई प्रभावकारी बनाई महँगी नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ ।
नेकपा बारा जिल्ला समितिले यी मागहरू तत्काल सम्बोधन नभए जनताको पक्षमा थप दबाबमूलक कार्यक्रम अघि बढाउने संकेतसमेत दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close