ग्रामीण सीमाना पार गर्दै कानुनी क्षेत्रमा महिला प्रवेश : बारामा प्रीति साहको ऐतिहासिक उपलब्धि

श्याम साह बैशाख १०, कलैया। जिल्लामा कानुन व्यवसायमा महिलाको प्रतिनिधित्व नदेखिएको अवस्थाबीच कलैया उपमहानगरपालिका–१० मटियर्वाकी प्रीति कुमारी साहले अधिवक्ताको लाइसेन्स प्राप्त गर्दै नयाँ इतिहास रचेकी छन् । ग्रामीण पृष्ठभूमिबाट कानुनी पेशामा प्रवेश गर्ने उनी जिल्लाकै पहिलो महिला अधिवक्ता बनेपछि बारा जिल्लामा महिला सशक्तिकरणको नयाँ बहस सुरु भएको छ ।
सामान्य किसान परिवारमा जन्मिएकी प्रीतिको सफलता व्यक्तिगत उपलब्धिमात्र नभई ग्रामीण समाजमा छोरीहरूको शिक्षा र पेशागत अवसरबारे सोच परिवर्तन गर्ने उदाहरणका रूपमा हेरिएको छ । कानुनजस्तो प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण क्षेत्रमा महिलाको उपस्थिति न्यून रहेको अवस्थामा उनले नेपाल कानुन व्यवसायी परिषद्को कठिन परीक्षा उत्तीर्ण गर्दै पेशागत यात्रा सुरु गरेकी हुन् ।
गाउँकै सरकारी विद्यालयबाट अध्ययन सुरु गरेकी प्रीतिले आर्थिक र सामाजिक चुनौतीका बाबजुद उच्च शिक्षा हासिल गरिन् । उनले अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर पूरा गरेपछि कानुन अध्ययनतर्फ मोडिएकी थिइन् । एलएलबी अध्ययन सम्पन्न गरी लामो तयारीपछि उनले अधिवक्ता परीक्षा पास गर्दै लाइसेन्स प्राप्त गरेकी हुन् ।
स्थानीय स्तरमा उनको उपलब्धिलाई सामाजिक परिवर्तनसँग जोडेर हेरिएको छ । ग्रामीण क्षेत्रमा अझै पनि छोरीहरूको उच्च शिक्षा र पेशागत सहभागितामा विभिन्न अवरोध रहेका बेला प्रीतिको सफलता अन्य बालिकाका लागि प्रेरणादायी मानिएको छ । स्थानीयवासीहरूले यसलाई “छोरीहरू पनि न्यायको क्षेत्रमा अघि बढ्न सक्छन्” भन्ने सन्देशका रूपमा लिएका छन् ।
नवनियुक्त अधिवक्ता साहले आफ्नो प्राथमिकता महिला अधिकार, घरेलु हिंसाका मुद्दा र न्यायमा पहुँच नपुगेका ग्रामीण नागरिकलाई कानुनी सहयोग उपलब्ध गराउने बताएकी छन् । विशेषगरी आर्थिक रूपमा कमजोर समुदायलाई निःशुल्क कानुनी परामर्श दिने योजना उनले सार्वजनिक गरेकी छन् ।
यसैबीच, कानुनी परामर्शलाई संस्थागत रूपमा उपयोग गर्ने उद्देश्यले उनलाई बारा–३ बाट निर्वाचित प्रतिनिधिको सचिवालयमा कानुनी विज्ञका रूपमा जिम्मेवारी दिइएको जनाइएको छ ।
प्रीति साहको उपलब्धिलाई बारामा महिला सहभागिता बढाउने संकेतका रूपमा लिइएको छ । ग्रामीण परिवेशबाट आएको यो सफलता जिल्लामा शिक्षा, समान अवसर र सामाजिक रूपान्तरणतर्फ सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।





