सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, नगरपालिका स्तब्ध

सिम्रौनगढ (बारा) — सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर लहेरामाथि भएको दुर्व्यवहारप्रति नगरपालिका कार्यालयले गम्भीर आपत्ति जनाउँदै कडा भर्त्सना गरेको छ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार कार्यालयको नियमित कामकाजका क्रममा प्रमुख प्रशासकीय अधिकृतमाथि असभ्य व्यवहार तथा अमर्यादित गतिविधि भएको जनाइएको छ। उक्त घटनाले सार्वजनिक प्रशासनको गरिमा र मर्यादामाथि आघात पुगेको भन्दै नगरपालिकाले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा सार्वजनिक सेवा प्रवाहमा खटिएका कर्मचारी तथा पदाधिकारीमाथि यस किसिमको दुर्व्यवहार स्वीकार्य नहुने उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ। साथै कार्यालयको शान्ति, सुरक्षा र सुशासन कायम राख्न सबै सरोकारवालालाई संयमित र जिम्मेवार हुन अपिल गरिएको छ।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि भएको घटनाप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीको सुरक्षा र सम्मान सुनिश्चित गर्न आवश्यक सबै कदम चालिने स्पष्ट पारेको छ। यस घटनाले स्थानीय तहमा कार्यरत कर्मचारीहरू असुरक्षित महसुस गर्न नपरोस् भन्नेतर्फ नगरपालिका गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।






