नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी छिचोल्दै तस्करी, भारतीय भूमिमा दुई नेपाली पक्राउ

मुकेश मेहता,बारा । नेपाल–भारत सीमाबाट अवैध रूपमा सामान ओसारपसार भइरहेको घटना फेरि बाहिर आएको छ। बाराको सिम्रौनगढ नगरपालिका–ननसागरा घाटका दुई युवकलाई भारतबाट नेपालतर्फ युरिया मल र खैनी ल्याउँदै गरेको अवस्थामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।
भारतीय एसएसबीको ७१औँ वाहिनीअन्तर्गत बीओपी रेगानियाबाट सहायक उपनिरीक्षक दिलीप रबि दासको नेतृत्वमा खटिएको विशेष गस्ती टोलीले अगरवा सीमा क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–ननसागरा घाटका १८ वर्षीय प्रभु मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन्।
एसएसबीले उनीहरूको साथबाट नेपालतर्फ लैजान लागिएको १९ बोरा अर्थात् ८५५ किलो युरिया मल, ५० किलो खैनी तथा तस्करीमा प्रयोग भएका चारवटा साइकल बरामद गरेको छ।
घटनाले नेपालतर्फ सीमा सुरक्षामा खटिएका निकायको निगरानीमाथि समेत प्रश्न उठाएको छ। सीमावर्ती क्षेत्रमा लामो समयदेखि अवैध सामान ओसारपसार हुने गरेको स्थानीयको गुनासो रहँदै आएको छ। तर, नेपालतर्फबाट तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति तथा नियमित गस्ती भइरहँदा पनि ठूलो परिमाणमा सामान भारतीय बजारबाट नेपालतर्फ ल्याउने प्रयास हुनु सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउने विषय बनेको छ।
स्थानीयस्तरमा भने यस्ता गतिविधि सीमा क्षेत्रमा हुने कथित ‘सेटिङ’ बिना सम्भव नहुने आरोपसमेत लाग्दै आएको छ। यद्यपि, यस घटनामा नेपालतर्फका सुरक्षाकर्मीको संलग्नता वा मिलेमतो पुष्टि भएको छैन। त्यसैले आरोपलाई अनुसन्धानबाट पुष्टि गर्नुपर्ने देखिन्छ।
विशेषगरी कृषि प्रयोजनका लागि प्रयोग हुने युरिया मलको नेपालमा माग उच्च रहने भएकाले सीमावर्ती क्षेत्रमा अवैध रूपमा मल भित्र्याउने गतिविधि हुने गरेको बताइन्छ। त्यस्तै, खैनीलगायतका वस्तुको अवैध ओसारपसार पनि सीमावर्ती क्षेत्रमा चुनौतीका रूपमा देखिँदै आएको छ।
भारतीय एसएसबीले नेपालतर्फ सामान ल्याउने क्रममा दुई नेपाली नागरिकलाई पक्राउ गरी ठूलो परिमाणमा सामान बरामद गरेपछि अब नेपालतर्फका सुरक्षा निकायले समेत घटनाबारे गम्भीर अनुसन्धान गर्नुपर्ने देखिएको छ। पक्राउ परेका व्यक्तिहरूले सामान कहाँबाट ल्याएका थिए, कसका लागि ल्याउँदै थिए र सीमा पार गराउने कार्यमा अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषय अनुसन्धानको मुख्य पाटो बन्न सक्छ।
यस घटनाले सीमामा हुने तस्करी रोक्न केवल सामान बरामद र व्यक्ति पक्राउ गर्नेभन्दा पनि तस्करीको सञ्जाल, लगानीकर्ता र संरक्षण गर्ने सम्भावित व्यक्तिसम्म अनुसन्धान पुर्याउनुपर्ने आवश्यकता देखाएको छ।






