कसैको दबाब र प्रभावमा नपरी काम गर्छु – प्रहरी उपरीक्षक खडका

रामबाबु मेहता,३० चैत्र, बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले शान्ति सुव्यवस्था कायमगर्न आफू कुनै कसर बाँकी नराख्ने बताएका छन ।
जिल्ला प्रहरी कार्यालय बाराको लागि ४९ औं प्रहरी प्रमुखको रुपमा ४ दिन अगाडी जिम्मेवारी सम्भालेका प्रहरी उपरीक्षक खडकाले आज पत्रकार भेटघाट गरि जिल्लाको शान्ति सुरक्षाबारे पत्रकारहरु संग सुझाव सल्लाह लिएर आफ्नो योजना बताएका हुन ।
उनले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफू कुनै पनि हालतमा कसैको दबाब र प्रभावमा नपरी काम गर्ने बताए । जिल्ला प्रहरी कार्यालयको ढोका बिचौलियाकोलागि सदैव बन्द रहने प्रहरी उपरीक्षक खडकाले प्रतिबद्धता समेत जनाएका हुन ।

उपरीक्षक खडकाले आफू यस जिल्लामा कार्यरत रहुन्जेल शुन्य सहनशीलताको सिद्धान्तमा काम गर्ने स्पष्ट पारे । गलत काम गर्ने प्रहरी कर्मचारीलाई कडा कार्बाही गर्ने चेतावनी समेत प्रहरी उपरीक्षक खडकाले दिएका हुन । प्रहरी कर्मचारीबाट हुने कुनै कमीकमजोरी संस्थागत नहुने प्रहरी उपरीक्षक खडकाले बिश्वास दिलाएका छन् ।
उनले जिल्लाको बिभिन्न नाकाबाट हुने तस्करी नियन्त्रण ,गम्भीर अपराधका घटना र मिटर ब्याज पिडित जस्ता मुद्धालाइ प्रथमिकतामा राखेर कामगर्ने बताएका छन् ।






