मुख्यमन्त्री यादव तेस्रो पटक पाए विश्वासको मत

६ फागुन,जनकपुरधाम ।
मधेश प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले तेस्रो पटक पनि विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेको सभामुखले जनाए ।
आइतवार प्रदेश सभामा १०४ जना प्रदेश सांसदहरुको उपस्थिति रहेको सभामुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री यादवको पक्षमा बहुमत प्राप्त भएकोले उनको नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।
प्रदेशसभामा तेस्रो पटक लिन लागिएको विश्वासको मतमा सत्ता गठबन्धनमा आवद्धदलसहित तीन साना दल र स्वतन्त्र प्रदेश सांसदहरुले समर्थन जनाउँदै विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई साना दलहरु नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टीसहित स्वतन्त्र प्रदेश सांसदहरुले समेत विश्वासको मत दिएका छन् ।
यससंगै सत्ता गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जसपाका प्रदेश सांसदहरुले पनि विश्वासको मत दिएका छन् । प्रदेश सरकारलाई कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्रका ९, लोसपा ९, एकीकृत समाजवादीका ७ र साना दलहरुबाट ३ जना सांसदले अहिलेको सरकारको पक्षमा मतदान गरेका हुन् ।






