बारामा सबै भन्दा बढी जीतपुरसिमरा उपमहानगरपालिकामा बेरुजु

रामबाबु मेहता,
बारा जिल्लामा दुई वटा उपमहानगरपालिका ,पाँच वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेकामा सबै भन्दा बढि बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको देखिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको छ । उपमहानगरपालिकाले प्रतिस्पर्धाबाट गर्नुृपर्ने काम समेत उपभोक्ता समितीबाट गराएको महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ । उ.महानगरपालिकाको कुल पुँजीगत खर्चको ७६ प्रतिशत उपभोक्ता समिती बनाई खर्च गरिएको छ । आर्थिक बर्ष २०७७।०७८ को लागि
उपमहानगरपालिका भित्रका दुधौरा खोला पसाहा र बालगंगाको बोलपत्र न्युत्तम ७ करोड ६७ लाख ९४ हजारमा आहवान गरेकोमा सबैभन्दा बढी कबोल गर्ने जयमाता दी सप्लायर्सले रु १४ करोड ६७ लाख ७ हजार ९ सय ९१ रुपैयामा कबोल गरेकोमा बोलपत्र नसकारेका कारण दोस्रो बढी कबोल गर्ने बिनोद साह निर्माण सेवासँग १२ करोड ७६ लाख ७७ हजार ९ सय ९१ रुपैयामा सम्झौता गरेको थियो
पलिकाले १३ करोड ३९ लाख ९४ हजार असुल उपर गर्नुपर्ने देखाएको छ । त्यस्तै रु ७ करोड ५ लाख कारोबारको प्रमाण कागजात पेश गर्नुपर्ने देखिन्छ ।नियमित गर्नुपर्ने रु १ करोड २५ लाख २९ हजार देखिन्छ भने पेस्की बेरुजु रु २ करोड ३५ लाख १५ हजार देखिन्छ । आर्थिक बर्ष २०७६।०७७ मा रु ३६ करोड ९ लाख बेरुजु थियो । उपमहानगरपालिकाले २ करोड ९१ लाख ६७ हजार ५ सय ५८ रुपैया दरबन्दीबिनाको कर्मचारी नियुक्त गरेर खर्च गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि बेरुजू रकम फर्छ्योट गर्नु अहिले चुनौतीको विषय भएको छ । कर्मचारीहरूले प्रलोभन तथा नेताहरूको दबाबमा परी जथाभाबी रकम निकास गरेपछि बेरुजू रकम बढ्दै गएको उपमहानगर स्रोतले जनाएको छ । महँगो सामान खरिद गरेको तर जिन्सी खातामा उल्लेख समेत नगरी सो सामान कसले प्रयोगमा ल्याइरहेको भन्ने यकिन नभएपछि सामान खरिद बराबरको रकम बेरुजू भएको देखिन्छ ।त्यस्तै, सामान खरिद नगरी भुक्तानी मात्र दिएको देखिएपछि सो रकम बेरुजू भएको हो । यसैगरी, कोभिडको समयमा जथाभाबी भत्ता रकम भुक्तानी दिएकोले पनि बेरुजू रकम बढेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै कलैया उपमहानगरपालिकाको बेरुजु १२ करोड ५६ लाख ५६ हजार , ,सिम्रौनगढ नगरपालिकाको १२ करोड १५ लाख ९२ हजार , पचरौता नगरपालिकाको बेरुजु ५ करोड ८ लाख ८४ हजार ,निजगढ नगरपालिकाको बेरुजु २३ करोड ६४ लाख ४३ हजार महागढीमाई नगरपालिकाको बेरुजु १० करोड ३८ लाख ५ हजार र कोल्हबी नगरपालिकाको बेरुजु ११ करोड ८६ लाख ५४ हजार रहेको छ ।
त्यस्तै सुर्वण गाउँपालिकाको बेरुजु रकम २ करोड ८७ लाख ३३ हजार ,प्रसौनी गाउँपालिकाको बेरुजु रकम ५ करोड ११ लाख ३५ हजार ,फेटा गाउँपालिकाको ७ करोड ३८ लाख ७१ हजार ,परवानीपुर गाउँपालिकाको बेरुजु रकम १ करोड ७१ लाख ९६ हजार ,करैयामाई गाउँपालिकाको बेरुजु रकम ५ करोड ७४ लाख ४ हजार ,देवताल गाउँपालिकाको बेरुजु रकम ३ करोड ५५ लाख ४५ हजार ,बिश्रामपुर गाउँपालिकाको बेरुजु रकम ३ करोड १५ लाख १९ हजार ,बारागढी गाउँपालिकाको बेरुजु २ करोड ७५ लाख ६ हजार र आदर्श कोट्वाल गाउँपालिकाको बेरुजु रकम २ करोड ५३ लाख ९२ हजार रहेको छ ।