एस पी बोगटी पहिलो एक्सन मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ एक दर्जन मोटर साइकल बरामद

रामबाबु मेहता, २४ साउनः
केही दिन अगाडी जिल्ला प्रहरी कार्यालय बारामा आएका एस पी होमेन्द्र बोगटीको अपराध नियन्त्रण गर्ने पहिलो एक्सनमा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ परेका उनीहरुलाई चोरीको मोटरसाइकल सहित प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
यही साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका-७ बेनौलीका २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाई पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा रहेका उनीहरूको बयानका आधारमा मोटरसाइकल चोरीमा संलग्न थप चार जना यूवासहित विभिन्न कम्पनीको १२ थान चोरीको मोटरसाइकल समेत बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो ।
प्रहरीले चोरीमा संलगन रहेका पचरौता नगरपालिका ७ बेनौलीका २० वर्षीय बृजमोहन साह सोनार, २० वर्षीय बिजय पटेल, २४ वर्षिय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी रहेका छन् । पक्राउ परेका उनीहरूले बाराको कलैया, महागढी तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोन्डा कम्पनीका एक दर्जन मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको चोरिको मोटरसाइकलको गाडी नम्बर र चेचिस नम्बरको आधारमा सवारीधनीलाई बुझाउने बाराको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।






