बारामा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध कारबाही प्रक्रियामा प्रशासन सक्रिय

बारा,साउन १४ गते । जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक जग्गा तथा वनक्षेत्र संरक्षणलाई प्राथमिकता दिँदै अतिक्रमण नियन्त्रण र कारबाही प्रक्रियामा तीव्रता दिएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको संयोजकत्वमा सञ्चालित अनुगमन तथा अनुसन्धानको क्रममा जिल्लाभित्रका विभिन्न ठाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको पुष्टि भएको छ। प्रशासनका अनुसार बाराको प्रमुख औद्योगिक क्षेत्र वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका– २ मा पर्ने हामा स्टिल उद्योगले करिब ६ कट्ठा सार्वजनिक जग्गा आफ्नै पर्खालभित्र पारेको पुष्टि भएको छ। सो विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको र कम्पनीलाई आफ्नो पक्ष राख्ने अवसर दिइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। ‘कम्पनीलाई सफाइको मौका दिइसकिएको छ। अब चाँडै यस विषयमा प्रशासनले सार्वजनिक सूचना निकाल्ने तयारी गरेको छ,’ उनले भने।
त्यस्तै, जर्गा होटेलले करिब १.५ कट्ठा नदी उकासको सार्वजनिक जमिन प्रयोग गर्दै आएको पाइएको छ। सो प्रकरणमा हाल प्रशासनले छानबिनको काम अगाडि बढाइरहेको छ। यसैगरी, प्रशासन कार्यालयले जितपुरसिमरा उपमहानगरपालिकामा रहेको राजु होटेलले भने वन क्षेत्रभित्र अनुमतिविना पक्की संरचना निर्माण गरिरहेको विषयमा सूचनाको आधारमा तत्काल कारबाही गरिएको र निर्माण रोकिएको बताइएको छ ।





