राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं, ७ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षक तथा त्यस्ता गतिविधिमा संलग्न शिक्षकलाई आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले २०८३ असोज ६ गते जारी गरेको पत्रमार्फत देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
मन्त्रालयले बागलुङ, बैतडी, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार तथा विवरण सार्वजनिक भएको जनाएको छ।
शिक्षा मन्त्रालयका अनुसार शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा रहेको कानुनी प्रावधानविपरीत हुनसक्ने देखिएको छ। त्यसैले सम्बन्धित शिक्षकका गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लंघन गर्ने शिक्षकलाई आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले त्यस्ता शिक्षकलाई शिक्षा नियमावली, २०५९ को नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनेको छ।
पत्रमा शिक्षा विकास तथा समन्वय एकाइहरूलाई उक्त विषयमा आवश्यक समन्वय र कार्यान्वयनका लागि निर्देशन दिइएको छ। पत्रको बोधार्थ शिक्षा विभाग, सानोठिमी भक्तपुरलाई समेत पठाइएको छ। 
मन्त्रालयको यो निर्देशनसँगै सामुदायिक विद्यालयका शिक्षक राजनीतिक गतिविधिमा सहभागी हुने विषयमा स्थानीय तह र सम्बन्धित शिक्षा निकायबाट निगरानी तथा कारबाही प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। यद्यपि, कुनै शिक्षकविरुद्ध कारबाही गर्नुअघि सम्बन्धित घटनाको तथ्य, शिक्षकको संलग्नताको प्रकृति र प्रचलित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको विद्यालय शिक्षा शाखाका उपसचिव लिलानाथ पोखरेलले हस्ताक्षर गरेको पत्रमा २०८३ असोज ६ गतेको निर्णयअनुसार यस्तो निर्देशन जारी गरिएको उल्लेख छ।





