पत्रकार देवराम यादव माथिको आक्रमणप्रति पत्रकार संगठनहरूको आक्रोश, दोषीमाथि कारबाहीको माग

बारा,असार ६ — प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल र संघीय प्रेस युनियन (एकता पक्षधर) ले पत्रकार देवराम यादवमाथि भएको आक्रमणको कडा निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकार र प्रशासनसँग माग गरेका छन्।
संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा प्रेस सेन्टर नेपालका पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्रताका पक्षधर पत्रकार देवराम यादवमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विज्ञप्तिअनुसार सडकको गुणस्तरसम्बन्धी समाचार लेखेकै कारण सप्तरीको महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवको निर्देशनमा आक्रमण भएको आरोप लगाइएको छ।
आक्रमणमा परी घाइते भएका पत्रकार यादव हाल राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत रहेको विज्ञप्तिमा उल्लेख छ। घटनामा पत्रकारलाई बचाउन खोज्ने भोलेदेवी यादव र महेशकुमार यादवसमेत घाइते भएको जनाइएको छ।
पत्रकार संगठनहरूले उक्त घटनालाई फौजदारी अपराध तथा संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहारको संज्ञा दिएका छन्। साथै यस घटनाले पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमार्फत घटनामा संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ। दोषीमाथि शीघ्र कारबाही नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत संगठनहरूले दिएका छन्।
संगठनहरूले प्रेस स्वतन्त्रताको सुनिश्चितता, पत्रकारहरूको सुरक्षा तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै घाइते पत्रकार देवराम यादवसहित अन्य घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close