२१ लाख रुपैया सहित बारामा पाँच जना पक्राउ

रामबाबु मेहता
श्रोत नखुलेको २१ लाख रकमसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन भारतीयसहित पाँच जनालाई  बारा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा महागढीमाई नगरपालिका–१ घर भई आसिफ मनि चेन्जर सञ्चालन गरी बस्ने ३९ वर्षीय मेराजुल हक अन्सारी तथा ३१ वर्षीय कलामुदिन अन्सारीलाई पक्राउ गरेको हो । कलैया उप–महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट सर्राफलाई कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याएको विभिन्न दरको पाँच लाख रुपैयाँसहित पक्राउ गरिएको थियो ।

अनुशन्धान गर्दैजादा उक्त हुण्डी कारोबारमा संलग्न रहेका आसिफ मनि चेन्जरका सञ्चालकलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धीको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी दधीराम न्यौपानेले जानकारी गराए ।

त्यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले फागुन २० गते कलयाणपुर सुलिगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकलसहित भारतको बिहार घर भएका ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रवि शंकर सिंलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली १६ लाख नौ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी न्यौपानेले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close