सामाजिक सञ्जालको आम्दानीबाट विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण

बारा, ५ असोज । सामाजिक सञ्जालबाट प्राप्त आम्दानीलाई व्यक्तिगत प्रयोजनमा मात्र सीमित नराखी सामाजिक क्षेत्रमा लगानी गर्ने उदाहरण प्रस्तुत गर्दै पत्रकार तथा पिएसआर खबरका सञ्चालक रमेश ठाकुरले बाराको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
ठाकुरले सोमबार विद्यालयमा आयोजित कार्यक्रममा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत २३७ जना विद्यार्थीलाई कापी, पेन, पेन्सिललगायतका सामग्री वितरण गरेका हुन्।
उनका अनुसार पिएसआर खबरको फेसबुक पेजबाट प्राप्त आम्दानीमध्ये करिब २० हजार रुपैयाँ विद्यार्थीको शैक्षिक आवश्यकताका सामग्री खरिदमा खर्च गरिएको हो। सामाजिक सञ्जाललाई केवल सूचना र मनोरञ्जनको माध्यमका रूपमा नभई समुदायप्रतिको जिम्मेवारी पूरा गर्ने माध्यम बनाउन सकिने सन्देश दिन कार्यक्रम आयोजना गरिएको उनले बताए।
ठाकुरले भने, “आफ्नो क्षेत्रमा रहेका विद्यार्थीको पढाइमा थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले सामाजिक सञ्जालबाट प्राप्त आम्दानीको केही हिस्सा शिक्षामा लगानी गरेका हौँ।”
उनले आफ्नै वडामा रहेका तीनवटै विद्यालयका ५५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिए। सोही अभियानअन्तर्गत मंगलबार भौरा र जीतपुरमा रहेका विद्यालयका विद्यार्थीलाई पनि सामग्री वितरण गर्ने तयारी गरिएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद कुशवाहा, शिक्षक राजन जैसवाललगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।
१४ वर्षदेखि पत्रकारितामा सक्रिय ठाकुर हाल कान्तिपुर टेलिभिजनका बारा संवाददाताका रूपमा समेत कार्यरत छन्। पत्रकारितासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा गरिएको यो पहलले स्थानीय तहमा सञ्चारकर्मीको भूमिकालाई समाचार सम्प्रेषणभन्दा बाहिर सामाजिक योगदानसँग पनि जोडेको देखिन्छ।






