सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउको माग गर्दै विरोध प्रदर्शन

कलैया माघ ४। नव जन्म सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै कलैयामा आइतबार बिरोध प्रदर्शन गरिएको छ।

कलैया उपमहानगरपालिका–१ स्थित सो सुधार केन्द्रमा कुटपिट गरी हत्या गरिएका युवक प्रदिपप्रसाद मण्डलका परिवार र स्थानीयले बिरोध प्रदर्शन गरेका हुन्। मृतक मण्डलका परिवारजन र स्थानीयहरुले संचालकलाई पक्राउ गर,पीडितलाई न्याय दे,दोषी हत्यारालाइ कार्वाही गर,पीडितलाई न्याय दे,थप सिसिटिभी फुटेज सार्बजनिक गर लगायतका नाराहरु लगाउदै कलैया बजारभरी परिक्रमा गरेका हुन्।

बिरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा पुगि पीडित परिवारले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र समेत बुझाए। सुधार केन्द्रमा कुटपिट गरि हत्या गरिएको घटनामा प्रहरीले अभियुक्तहरुलाइ पक्राउ गरेको ज्ञापनपत्रमा उल्लेख छ।

केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ नगरिएको भन्दै उनलाई पनि पक्राउ गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत पीडित परिवारले गरेका हुन्।

पीडित परिवारसित कुराकानी गर्दै बाराका एसपी सन्तोष तामाङले अभियुक्तहरुलाइ पक्राउ गरि सकिएकोले उनीहरुलाई कानुन बमोजिम सजाय हुने जनाए। केन्द्र भित्रै कुटपिट गरिएको सिसिटिभी लगायतका प्रमाणहरु बरामद गरि घटनाको अनुसन्धान सहज तरिकाले प्रहरीले गरिरहेको उनले जनाए।

सुधार केन्द्रका संचालक घटनास्थलमा घटनाको समयमा नभएको यद्यपि उनिसित सम्पर्क गर्ने कार्य भने भइरहेको तामाङले जानकारी दिए ।

कलैया–९ का ३७ वर्षीय मण्डललाई बिहीबार मध्यराति अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रमुख एसपी तमाङले बताए ।

‘मुक्काले अनुहारमा कुटपिट गरिएको संकलित प्रमाणले प्रस्ट भएको छ,’ उनले भने, ‘मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न उनले नमानेपछि कुटपिट गरिएको देखिन्छ ।’ मण्डललाई दुई साताअघि परिवारले नै पुनःस्थापना केन्द्रमा राखेका थिए ।
लागूऔषध कुलतमा फसेकाहरूको सुधारका लागि सञ्चालनमा ल्याइएको पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमतिसमेत नलिएको सञ्चालकका भाइ तमन्ना मन्सुरले प्रहरीलाई बयान दिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरीका निरीक्षक राजेश खत्रीले बताए । यता सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा जनस्वास्थ्य कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत संचारकर्मीहरु सहितको अनुगमन टोली बारामा रहेका सुधार केन्द्रहरुको आज बाट अनुगमन सुरु गरेको हो । अनुगमनको क्रममा सुधार केन्द्रहरुको भौतिक अवस्था, गुणस्तर, पालना गर्ने नियम, दर्ता भए नभएको कागजपत्र तथा अन्य सेवासुविधाको अवस्था बारे हेर्ने काम भएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close