दैनिक उपभोग्य वस्तुमा मनपरी चिल्लो पदार्थ
मापदण्ड भन्छ, ‘अब औद्योगिक ट्रान्सफ्याट दुई प्रतिशतभन्दा बढी राख्न पाइन्न’

काठमाडौँ — बजारमा उपलब्ध धेरैजसो खाद्यवस्तुमा तोकिएको मापदण्डभन्दा बढी चिल्लो पदार्थ हुने गरेको पाइएको छ । अनुगमन र परीक्षण गर्दा औद्योगिक ट्रान्सफ्याटको मात्रा २० देखि ३० प्रतिशतसम्म पाइने गरेको देखिएको हो । बजारमा खाद्य पदार्थको ट्रान्सफ्याटमा नियन्त्रण नहुँदा मनलागी बढेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्य बताउँछिन् ।
‘
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०२३ को डिसेम्बरसम्ममा संसारबाट ट्रान्सफ्याटलाई हटाउन सिफारिस गरेको छ । सोहीअनुसार अमेरिका, डेनमार्क, थाइल्यान्ड, युरोपियन युनियन, जापान, भारतलगायत ६० भन्दा बढी मुलुकले ट्रान्सफ्याटसम्बन्धी नीति तथा कानुन कार्यान्वयनमा ल्याएका छन् ।
संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएका नाताले नेपालले विश्व स्वास्थ्य संगठनको ट्रान्सफ्याटसम्बन्धी सिफारिसलाई अंगीकार गरिएको महानिर्देशक वैद्यले बताइन् । ‘खाद्यवस्तुमा अत्यधिक मात्रामा ट्रान्सफ्याट हुँदा मुटुको समस्या निम्तिन्छ । त्यसलाई दृष्टिगत गरी विभिन्न सरोकारवाला निकायकसँग छलफल र राय लिएर मापदण्ड बनाएका छौं,’ उनले भनिन्, ‘मन्त्रिपरिषद्बाट मापदण्ड स्वीकृत भएको छ ।’
०८० पुस १२ को मन्त्रिपरिषद् बैठकले खाद्यपदार्थमा औद्योगिक ट्रान्सफ्याटको अधिकतम सीमा तोक्ने निर्णय गरेको हो । ट्रान्सफ्याटको अधिकतम सीमा निर्धारणसम्बन्धी मापदण्डमा खाद्यवस्तुमा चिल्लो पदार्थ २ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ । ‘उदाहरणका लागि एक ग्रामको खाद्यवस्तुमा २ प्रतिशतभन्दा बढी चिल्लोपदार्थ हुनु हुँदैन । बिस्कुटमा करिब १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ, बच्चादेखि नै फ्याट उपभोग भइराखेको छ,’ वैद्यले भनिन्, ‘औद्योगिक ट्रान्सफ्याटको गुणस्तरमा मापदण्ड बनेको छ । अब कार्यान्वयनमा जान्छौं ।’
वनस्पति तेललाई जति धेरै पटक ततायो, त्यति नै त्यसमा ट्रान्सफ्याटको मात्रा बढ्दै जान्छ । जति धेरै ततायो, तेल त्यति बढी हानिकारक बन्दै जाने विभागको भनाइ छ । यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेन, अन्य तारेका खाने कुरा स्वादिलो भए पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक स्वास्थ्यकर्मी बताउँछन् ।
अध्ययनअनुसार मान्छेले प्रतिदिन खाने चिल्लो पदार्थको एक प्रतिशतभन्दा बढी ट्रान्सफ्याट भए स्वास्थ्यका लागि हानिकारक हुन्छ । वैज्ञानिक अध्ययनले सिफारिस गरेबमोजिम मान्छेलाई दैनिक आवश्यक कुल ऊर्जा (क्यालोरी) को एकतिहाइ चिल्लो पदार्थबाट प्राप्त हुनुपर्ने विभागले जनाएको छ ।
ट्रान्सफ्याट खराब चिल्लो पदार्थ हो । यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ र असल कोलेस्ट्रोल घटाउँछ, रक्तनलीहरूको भित्री भागमा नकारात्मक असर पारी त्यहाँ रगतका थेग्रा जम्ने सम्भावना बढी रहने विभागको दाबी छ । ‘रक्तनली साँघुरिने क्रम बढाउँछ, मुटुको धमनीको रोग, हृदयाघात र मस्तिष्काघात हुने सम्भावना वृद्धि हुन्छ,’ विभागले तयार पारेको प्रस्तुतीकरणमा भनिएको छ, ‘तसर्थ, ट्रान्सफ्याट मुटु र रक्तनलीहरूका लागि अत्यन्तै हानिकारक छ ।’
औद्योगिक ट्रान्सफ्याट नियन्त्रण गर्न मापदण्ड बनेको मन्त्रालयका खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा प्रमुख सञ्जीवकुमार कर्णले बताए । ‘प्राकृतिक ट्रान्सफ्याट त्यति हानिकारक हुँदैन, प्राकृतिकमा केही मात्रामा बढी पनि हुन सक्छ । तर कृत्रिम र औद्योगिकमा ट्रान्सफ्याट बढी हुन्छ । पटकपटक प्रशोधन, रिकुकिङ गर्दा ट्रान्सफ्याट बढ्छ,’ कर्णले भने, ‘मापदण्ड बनेपछि अब २ प्रतिशतभन्दा बढी नाघ्नुभएन ।’
के हो ट्रान्सफ्याट ?
ट्रान्सफ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । स्वास्थ्यका दृष्टिले ट्रान्सफ्याट चिल्लो पदार्थमध्येको एक हानिकारक चिल्लो हो । खानामा यसको मात्रा धेरै भए मुटुका रोगलगायत अन्य स्वास्थ्य समस्या हुन्छन् ।
ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम गरी दुई किसिमका स्रोतबाट प्राप्त हुन्छ । राँगा, भैंसी, खसी, बोका आदिको रातो मासु तथा जनावरको दूध ट्रान्सफ्याटका प्राकृतिक स्रोत हुन् । रातो मासुमा पाइने चिल्लोमा ट्रान्सफ्याटको मात्रा ३ देखि ९ प्रतिशत हुन्छ । जनावरको दूधको चिल्लोमा २ देखि ६ प्रतिशत ट्रान्सफ्याट हुन्छ ।
थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटले स्वास्थ्यमा नकारात्मक असर पार्दैन । वनस्पति तेललाई तताएर त्यसलाई आंशिक रुपमा हाइड्रोजिनेसन गरी वनस्पति घिउ तयार गर्दा औद्योगिक ट्रान्सफ्याट उत्पन्न हुन्छ । यसरी कृत्रिम तरिकाले उत्पादित औद्योगिक ट्रान्सफ्याट स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । सभार – कान्तिपुर





