रामराजा क्याम्पसका प्रमुख कुशवाहको हत्या प्रकरण: मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा पक्राउ

कलैया, मंसिर १३ । बाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या प्रकरणका मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ ३२ गते साँझ सवा ५ बजेको करिबमा बारा आदर्शकोतवाल गाउँपालिका–२ स्थित खजुरियाबाट कलैयाबजारतर्फ जाँदै गर्दा हरिभुषण कुशवाहालाई गोली हानी हत्या गरिएको थियो ।                   घटनामा नेपाली सेनाका भगौडा र गाउँमा त्रास फैल्याउने व्यक्तिका रूपमा चिनिने सुरेन्द्र प्रसाद कुशवाहासहित १७ जनाको समूह संलग्न रहेको बारा प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

सो हत्या प्रकरणमा संलग्न अन्य ८ व्यक्तिहरूलाई प्रहरीले तत्कालै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । तीमध्ये दुई अभियुक्त धरौटीमा रिहा भएका थिए भने बाँकी ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । घटनामा प्रयोग भएका दुई थान पिस्तोल, सात राउन्ड गोली, चार थान मोटरसाइकल, चार मोबाइल, दुई ल्यापटप र सात सिमकार्ड प्रहरीले बरामद गरेको थियो ।

प्रहरीका अनुसार, मुख्य अभियुक्त कुशवाहा लामो समयसम्म भारत र नेपालका विभिन्न स्थानमा लुकेर बसेका थिए । प्रहरीको अथक प्रयासमा उनी मोरङ जिल्लामा लुकेर बसेको सूचनाको आधारमा पक्राउ परेका हुन् । बारा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको छ ।
सुरेन्द्र प्रसाद कुशवाहाविरुद्ध ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाइ सम्पन्न भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनालाई गम्भीर अपराधको रूपमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close