कूर्मी सशक्तिकरण मंच बारा अधिवेशन असफल, नयाँ “प्रगतिशील पटेल समाज” गठनको पहल

बारा, माघ १० — कूर्मी सशक्तिकरण मंच बारा अन्तर्गत मिति २०८२/१०/१० गते चिउटाहामा सम्पन्न जिल्ला अधिवेशन अपेक्षित नतिजा दिन नसकी असफल भएको छ। अधिवेशनमा स्वजातीयहरूको व्यापक र उत्साहजनक उपस्थिति रहे पनि केही निश्चित राजनीतिक दलमा आबद्ध व्यक्तिहरूको अकर्मण्यता तथा अनावश्यक हस्तक्षेपका कारण नयाँ कार्यसमिति चयन हुन नसकेको हरेराम पटेलले बताइएको छ।
अधिवेशनपछि नयाँ कार्यसमिति चयन गर्न गठित तीन सदस्यीय समिति पनि विभिन्न टिकडमबाजी र असहयोगका कारण समयमै जिम्मेवारी पूरा गर्न असफल भएको जनाइएको छ। समितिको तोकिएको म्यादसमेत सकिँदा पनि कुनै निष्कर्षमा पुग्न नसक्दा मंचको संगठनात्मक गतिविधि अन्योलमा परेको छ।
यसैबीच, पटेल (कूर्मी) जातीय उत्थान र विकासलाई केन्द्रमा राख्दै प्रगतिशील विचारधारा भएका स्वजातीयहरूको पहलमा छुट्टै संगठन गठनको तयारी सुरु भएको छ। उक्त संगठनको नाम “प्रगतिशील पटेल समाज” राख्ने प्रस्तावसहित प्रारम्भिक छलफल र परामर्श भइरहेको जानकारी दिइएको छ।
नयाँ संगठनले जातीय एकता, सामाजिक सशक्तिकरण, शैक्षिक चेतना र आर्थिक विकासका सवाललाई प्राथमिकतामा राखेर अगाडि बढ्ने लक्ष्य लिएको जनाइएको छ। यस सम्बन्धमा सम्पूर्ण बाराबासी पटेल (कूर्मी) स्वजातीयहरूलाई जानकारी गराउँदै आगामी दिनमा औपचारिक कार्यक्रममार्फत विस्तृत विवरण सार्वजनिक गरिने समेत हरेराम पटेलले बताइएको छ।






