आर्थिक गणनाले खोल्दै बाराको वास्तविक व्यापारिक चित्र, लक्ष्यभन्दा बढी प्रतिष्ठान फेला
कलैया, असार १
बारा जिल्लाको आर्थिक गतिविधिको वास्तविक अवस्था सार्वजनिक गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय आर्थिक गणना–२०८२ ले जिल्लामा अपेक्षाभन्दा धेरै व्यवसाय तथा प्रतिष्ठान रहेको संकेत गरेको छ। गणना कार्य अन्तिम चरणमा पुग्दा लक्ष्यभन्दा बढी प्रतिष्ठानको विवरण संकलन भएपछि बाराको आर्थिक संरचना अनुमानभन्दा फराकिलो रहेको देखिएको हो।
जिल्ला आर्थिक गणना कार्यालय बाराका अनुसार हालसम्म २१ हजार ७४ वटा व्यवसाय तथा प्रतिष्ठानको विवरण संकलन भइसकेको छ। जबकि राष्ट्रिय तथ्याङ्क कार्यालयले बाराका लागि २० हजार ९ सय २१ प्रतिष्ठानको लक्ष्य निर्धारण गरेको थियो।
गणनाका क्रममा उद्योग, व्यापार, होटल, रेष्टुरेन्ट, वित्तीय सेवा, कृषि तथा सेवा क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरूको तथ्याङ्क संकलन गरिएको छ। प्रारम्भिक विवरणले बारामा पछिल्ला वर्षहरूमा व्यवसायिक गतिविधि विस्तार भएको र नयाँ प्रतिष्ठानहरू थपिएको संकेत गरेको अधिकारीहरूको भनाइ छ।
आर्थिक गणना अधिकारी राजेश दासका अनुसार गणनाबाट प्राप्त हुने तथ्याङ्कले जिल्लाको वास्तविक आर्थिक क्षमता, रोजगारीको अवस्था, लगानीको प्रवृत्ति र व्यवसायको स्वरूपबारे स्पष्ट चित्र दिनेछ। यसले भविष्यमा स्थानीय तथा प्रदेश सरकारलाई विकास योजना निर्माण गर्न ठोस आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ।
बाराका १६ वटै स्थानीय तहमा ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरी सञ्चालन गरिएको गणना कार्य असार ७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। स्थानीय तह, उद्योग वाणिज्य संघ तथा व्यवसायीहरूको सहयोगका कारण गणना प्रभावकारी रूपमा अघि बढेको कार्यालयले जनाएको छ।
अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि बाराको आर्थिक संरचना, व्यवसायिक विस्तार र रोजगारी सिर्जनाको अवस्थाबारे थप स्पष्ट तथ्य बाहिर आउने अपेक्षा गरिएको छ। यसले जिल्लामा आगामी लगानी र विकासका प्राथमिकता निर्धारण गर्न समेत महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।






