सीमावर्ती बैरगनियामा ठूलो परिमाणमा लागुऔषध बरामद

रौतहट, २४ कार्तिक।
सीमावर्ती भारतीय बजार बैरगनियामा नेपाली युवकहरूलाई कुलतमा पार्ने खालका लागुऔषधहरू भण्डारण गरिएको सूचनाको आधारमा भारतीय सुरक्षाकर्मीहरूले छापा मारेर ठूलो परिमाणमा औषधि बरामद गरेका छन्।
भारतको सीतामढी जिल्ला अन्तर्गत पर्ने बैरगनियाको पटेल चोकस्थित हनुमान मेडिकोमा बिहीबार साँझ रक्सौल थानाका ड्रग इन्सपेक्टर अभिषेक कुमार र जितेन्द्र कुमारको संयुक्त कमाण्डमा एसएसबी जवानहरूको टोली पुगेको थियो। टोलीले छापा मार्दा गोदाममा भण्डारण गरिएको ठूलो मात्रामा लागुऔषध फेला परेको भारतीय मिडियाले जनाएका छन्।
छानबिनका क्रममा अंसारी मार्केटस्थित हनुमान मेडिकोको गोदामबाट करिब दुई दर्जन कार्टुनभित्र लुकाइएको २,६०८ बोतल अनरेक्स (Onrex) नामक कफ सिरफ बरामद गरिएको बताइएको छ। प्रहरीले मेडिकोका सञ्चालक गौरव कुमार र उनका एक कर्मचारीलाई नियन्त्रणमा लिएर लागुऔषध ऐनअन्तर्गत कारबाही अघि बढाएको छ।
स्मरण रहोस्, नेपाली सीमावर्ती क्षेत्रका युवामध्ये धेरैजना भारतमा सजिलै पाइने कोरेक्स, अनरेक्स, डाइजापाम, फेनागन, फेन्साड्रिल जस्ता औषधिहरूको दुरुपयोग गर्ने गर्छन्। ती औषधिहरू प्रायः चोर बाटो हुँदै नेपालतर्फ तस्करी हुने गरेको छ।

स्थानीय जनताले लामो समयदेखि सीमापारीका बजारमा यस्ता नशालु औषधिहरूको खुलेआम बिक्रीबारे गुनासो गर्दै आएका थिए। ती गुनासोका आधारमा पहिलोपटक गरिएको उक्त छापामा ठूलो मात्रामा औषधि बरामद भएको भारतीय पत्रकारहरूले जनाएका छन्। उनीहरूका अनुसार यस्ता छापा र निगरानी नियमित रूपमा गरिएमा सीमाक्षेत्रमा नशालु औषधिको कारोबार पूर्ण रूपमा नियन्त्रणमा आउने विश्वास लिइएको छ।





