लागुऔषध खैरो हिरोइन सहित बारामा एक जना पक्राउ

बारा — असोज ३० गते
जिल्ला बारा, प्रसौनी गाउँपालिका–३ नौतनस्थित क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब साढे ४ बजे बिरगन्ज बाट प्रसौनीतर्फ पैदल आइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शंकास्पद व्यक्तिलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो। 
प्रहरीका अनुसार भाग्ने प्रयास गरेपछि लखेटी पक्राउ गरिएका व्यक्ति पर्सा जिल्ला, पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउती निवासी ४२ वर्षीय रामाशंकर दास हुन्।
उनीमाथि तलासी गर्दा उनको लगाएको पाइन्टको बाँया गोजीभित्र कागजमा बेरिएको खैरो हिरोइनजस्तो देखिने पदार्थ १९.७८० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रामाशंकर दासलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ।





