काँग्रेसका नेता आफताव आलम सहित चार जनालाई जन्मकैदको सजाय


रामबाबु मेहता १३ वैशाख ।
१७ वर्ष पुरानो हाइप्रोफाइल मुद्दा मानिएका राजपुर बम बिस्फोटन र सो बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउदै इटाभाटामा जलाइको मुद्दामा दोषी ठहर गर्दै आज आफताव आलम,उनका भाई महताव आलम, बद्री सहनी र शेख सेराजलाई जन्म कैदको फैसला जिल्ला अदालत रौतहटले गरेको छ ।
नेपाली काँग्रेसका नेता आफताव आलम निजका भाई महताव आलम सहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दामा गत सोमवार देखि चल्दै आएको बहस आज विहिवार दिउसो ३ बजे सकेको थियो ।
रौतहट जिल्ला अदालतका एक नम्वर इजलाशका न्यायाधिश मातृका प्रसाद आचार्यको एकल इजलासमा भएको वकिलहरुको बहस बादी पक्षबाट तिन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए । बहस सकेपछि आफताव आलम, भाई महताव आलम, बद्री सहनी, शेख सेराजलाई जन्म कैद र मुक्ति साह लाई सफाई दिइएको तथा फरार रहेका ६ जनालाई मुल्तवीमा राखिएको सजाय सुनाइएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
वादी पक्षबाट सरकारी वकिल कार्यालयका बद्री कार्की, दयानिधि रिजाल र पुष्प राज पौडेलले बहस गरेका थिए भने वरिष्ठ अधिवक्ता एवं पूर्व पुनरावेदन अदालतका मुख्य नायाधिश मोहम्मद साविर हुसेन, बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, अजय पटेल, आफताव आलम, यदुनाथ खनाल, मजरुल हक, लालबाबु यादव र अनन्त अधिकारीले प्रतिवादीको तर्फबाट बहस गरेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप श्रीनारायण प्रसाद सिंह सहितले लगाएर मुद्दा दर्ता गराएका थिए । सोही मुद्दाको अन्तिम किनारा लगाउन पटक पटक पेशी सर्दै आएको थियो ।
२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा साविक रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका मोहम्मद अफताब आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । जनतालाई आफ्नो प्रभावमा पारी धाँधली गरी निर्वाचन जित्नको लागि भण्डारण गरी राखेको ग्रेनाइट र हातहतियार बनाउन संकलन गरी राखेको बिस्फोटक पदार्थ र स्थानीय मतदाता तर्साउन तयार पारेर राखिएको बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएको सरकाको दाबी छ । बम बनाउँदै गर्दा दुर्घटना भई बम विस्फोट भएपछि केही व्यक्ति घाइतेसमेत भएकाले योजनाको पोल खुल्ने डरले घाइते अवस्थामा रहेका उनीहरूलाई आलमले आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको आरोपलाइ अदालतले पुष्टी गरेको छ ।
घटनाको तीन दिनपछि २०६४ चैत ३० गते आलमसँगै निर्वाचन लडेका शैलेन्द्र साहले सो घटनाका सम्बन्धमा प्रहरीमा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, रौतहटमा कारबाहीका लागि रायसहितको प्रतिवेदन बुझाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय रौतहटका तत्कालीन नेतृत्वले मुद्दा नचल्ने निर्णय गरेपछि उक्त घटना दबाइएको थियो । त्यसपछि उक्त निर्णय उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालयबाट समेत सदर भई आलमविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो । तर उक्त घटनामा संलग्नमाथि अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेपछि सर्वोच्च अदालतले २०६९ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै उक्त मुद्दामा ‘गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउनु’ भन्दै सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो ।
सर्वोच्चको उक्त फैसला पुनरावलोकन गरिपाउँ भनी महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगेको भएपनि सर्वोच्चले २०७० साउन ११ गते पुनरावलोकनको निस्सा दिन अस्वीकार गरेको थियो ।
यद्यपि उक्त मुद्दामा पुनः अनुसन्धान सुरु हुन सकेको थिएन । फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि फैसला कार्यान्वयन हुन नसकेकाले अदालतको अवहेलनामा कारबाही गरिपाउँ भन्दै अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटलाई विपक्षी बनाइ रिट दर्ता गराएका थिए ।

प्रत्यक्षदर्शी राजेश प्रसाद सहनीको बयान – घाइतेलाई इँटाभट्टामा जिउँदै जलाइयो

राजपुर बमकाण्डमा घाइते भएकाहरुलाई आलमका सहयोगीहरुले ट्याक्टरमा हालेर लगी राजा इँटा भट्टामा जिउँदै जलाएको एक प्रत्यक्षदर्शीले बयान दिएका थिए । राजा इँटा उद्योगमा काम गर्ने राजेश प्रसाद सहनीले घाइतेलाई जिउँदै जलाइएको सनसनीपूर्ण बयान दिएका थिए ।

इँटा उद्योगमा काम गर्ने राजेश प्रसाद सहनी मात्रै होइनन्, बम बिस्फोपछि गम्भीर घाइते भएका भारतीय नागरिक गौरी शंकर राम चमारले पनि विस्फोटकै कारण आफू घाइते भएको बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका गौरी शंकरले शेख इद्रिसको गोठमा १५–१६ जना मानिसहरु बसिरहेको आफूले देखेको र त्यहीँ पुग्दा विस्फोट भइ आफूसमेत घाइते भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
नेपाल प्रहरीले भारतको सितामढी पुगेर गौरी शंकर राम चमारलाई नेपाल ल्याइ पीडितको संरक्षणसमेत गरी अदालतमा समेत पेश गरेको थियो । पछि अदालतबाट पीडित र साक्षीको सुरक्षा र संरक्षण गर्न सरकारको नाममा आदेश दिएको थियो ।
तर जब अदालतमा मुद्दा पेस भयो, थुनछेक बहस चलिरहँदा गौरी शंकर राम चमार एउटा निवेदन लिएर रौतहट जिल्ला अदालतमा पुगे । चमारले आफू बम विस्फोटमा परेको नभई ग्यास स्टोभ पड्किएर घाइते भएको र प्रहरीले आफूलाई जबरजस्ती कागज गराएको निवेदनमा उल्लेख थियो । तर जब प्रहरीले चमारको सुरक्षाको ग्यारेन्टी ग¥यो, तब चमारले आफूलाई भारतको सीतामढीस्थित आफ्नै घरबाट आलम पक्षका मानिसहरूले अपहरण गरी नेपाल ल्याएको बताए ।
त्यो अपहरणमा आलमका सम्धी तथा भारत शिवहर विधानसभा क्षेत्रका विधायक सरफुद्दिन सेखको समेत प्रत्यक्ष संलग्नता रहेको तिनै पीडित चमारसंग गरिएको कुराकानीको क्रममा समेत बताएका थिए । त्यसलगत्तै रौतहट जिल्ला अदालतले नै पीडित र साक्षीको सुरक्षा गर्न प्रहरीलाई निर्देशनात्मक आदेश जारी गरेको थियो

नेता आलम अहिले केन्द्रीय कारागारको थुनुवा कक्षमा कैदीबन्दी सरह जिवन व्यतित गर्दै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close