कलैयामा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको पहिचान खुल्न सकेन

बारा । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार बुधबार राति करिब ९ः१० बजे वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले गार्डेन भ्यु रिसोर्ट नजिकै पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा राति १०ः३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र निलो पाइन्ट लगाएको अवस्थामा रहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close