विश्वप्रसिद्ध गढीमाई मन्दिरमै सुरक्षा फितलो माताको बहुमुल्य गहना गायब

बारा, साउन १३ — विश्वप्रसिद्ध गढीमाई मन्दिरबाट बहुमूल्य गहना चोरी भएको घटना चार दिनसम्म गोप्य राखिएको खुलासा भएपछि मन्दिरको सुरक्षा व्यवस्था र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।
महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार साउन १० गते मन्दिरबाट चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी तथा सुनको हार चोरी भएको थियो। तर घटना तत्काल सार्वजनिक नगरिई चार दिनपछि स्थानीयवासीले पत्रकार सम्मेलन गरी जानकारी गराएपछि मात्रै बाहिर आएको हो।
स्थानीयले यति महत्वपूर्ण धार्मिकस्थलमा भएको चोरी किन लुकाइयो भन्ने प्रश्न उठाउँदै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले मन्दिरमा सुरक्षा संयन्त्र कमजोर रहेको, निगरानी प्रणाली प्रभावकारी नभएको र घटना ढाकछोप गर्ने प्रयास भएको आशंका समेत व्यक्त गरेका छन्।
घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको बारा प्रहरीले जनाएको छ। चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको र घटनाका सबै पक्षमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।
५-५ वर्षमा लाखौं श्रद्धालु सहभागी हुने गढीमाई मन्दिरमा भएको यस चोरीले धार्मिक सम्पदाको सुरक्षा व्यवस्थामाथि गम्भीर बहस सिर्जना गरेको छ। स्थानीयले चोरी भएका गहना शीघ्र बरामद गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा मन्दिरको सुरक्षा व्यवस्थालाई आधुनिक र भरपर्दो बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close