सीटी स्क्यानको अभावमा मृत्यु: कलैयाको पीडा, राज्यको लापरवाही


रामबाबु,मेहता
बिरामीको मृत्यु केवल रोगले होइन, राज्यको प्राथमिकताहीनताले पनि हुन्छ
करीब डेढ वर्षअघि आफ्नै एक काकीलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याइयो। चिकित्सकले सीटी स्क्यान गर्नुपर्ने आवश्यकता औँल्याए। तर अस्पतालमा त्यो सुविधा थिएन। बाध्य भएर वीरगञ्ज लैजाने तयारी गरियो। दुर्भाग्यवश, उहाँलाई बचाउन सकिएन।
हिजो राति फेरि उही कथा दोहोरियो। एक जना काकालाई प्रादेशिक अस्पताल, कलैया लगियो। फेरि पनि सीटी स्क्यान सुविधा उपलब्ध भएन। वीरगञ्ज लैजाने तयारी हुँदै गर्दा उहाँको अस्पतालमै मृत्यु भयो।
यी दुई घटनाले एउटा गम्भीर प्रश्न उठाएका छन्—मधेश प्रदेशकै एउटा प्रमुख अस्पतालमा आजसम्म सीटी स्क्यानजस्तो आधारभूत सेवा किन उपलब्ध छैन?
यो भन्न खोजिएको होइन कि सीटी स्क्यान भएको भए दुवै बिरामीको ज्यान निश्चित रूपमा बच्थ्यो। तर यति निश्चित छ कि परिवारले बिरामी बोकेर अर्को सहर धाउनुपर्ने पीडा भोग्नुपर्दैनथ्यो। उपचारमा हुने बहुमूल्य समय जोगिन्थ्यो, आर्थिक भार घट्थ्यो र समयमै रोगको पहिचान भई उपचार सुरु हुने सम्भावना बढ्थ्यो। चिकित्सा विज्ञानमा समय नै जीवन हो, र त्यो समय खोस्ने अधिकार कुनै पनि राज्यलाई छैन।
विडम्बना के छ भने, यो कुनै दुर्गम गाउँको अस्पताल होइन। यो जिल्लाको सदरमुकाम, उपमहानगरपालिकामा रहेको प्रादेशिक अस्पताल हो। यस्तो स्थानमा समेत आधारभूत स्वास्थ्य सेवा उपलब्ध नहुनु केवल व्यवस्थापनको कमजोरी होइन, यो राज्यको प्राथमिकतामाथिको गम्भीर प्रश्न हो।
हरेक यस्ता घटनापछि मनमा एउटै प्रश्न उठ्छ—दोष कसलाई दिने? चुनाव जितेर जनताका आधारभूत आवश्यकतालाई बेवास्ता गर्ने जनप्रतिनिधिलाई? बिहान चिया पसल र साँझ भट्टीको राजनीतिक गफमै सीमित कार्यकर्तालाई? कि केही रुपैयाँ, रक्सी र मासुको लोभमा आफ्नो मतको मूल्य घटाउने मतदातालाई? दोष सबैको हिस्सामा बाँडिन सक्छ, तर सबैभन्दा ठूलो जिम्मेवारी राज्यको हो, जसले नागरिकको जीवनभन्दा अरू विषयलाई प्राथमिकता दिइरहेको छ।
देशमा बजेट अभावको रटान सुनिन्छ। तर उपलब्ध बजेटसमेत समयमै खर्च हुँदैन। खर्च भए पनि प्राथमिकता कहाँ छ? मन्दिर निर्माण, मस्जिद निर्माण, छठ घाट निर्माण, पोखरी सौन्दर्यकरणजस्ता योजनामा करोडौँ रुपैयाँ छुट्याइन्छ। तर अस्पतालमा एउटा सीटी स्क्यान मेसिन जोड्न राज्यको ध्यान पुग्दैन। अझ दुःखद पक्ष त के भने, विकासका नाममा हुने खर्चसमेत भ्रष्टाचारको दलदलमा फस्ने गरेको आरोपबाट मुक्त छैन।
यही प्रादेशिक अस्पताल, कलैयामै केही समयअघि कर्मचारी भर्ना प्रक्रियामा धाँधली भएको जानकारी पाएपछि सम्बन्धित मन्त्रीसम्म कुरा पुर्याएर प्रकाशित भइसकेको नतिजा स्थगित गराउन सफल भयौँ। त्यसबेला एउटा गलत निर्णय रोकियो। तर प्रश्न अझै उही छ—के हरेक अन्याय सच्याउन कुनै व्यक्तिको पहुँच आवश्यक पर्ने हो? संस्थाहरू आफैँ किन जिम्मेवार बन्न सक्दैनन्?
आफैले पढाएका विद्यार्थीहरू आज विदेशमा आधुनिक अस्पताल, व्यवस्थित सडक र उत्तरदायी शासन व्यवस्थाबीच आफ्नो भविष्य निर्माण गरिरहेका छन्। यता हामी भने २१औँ शताब्दीमा पनि अस्पतालमा आधारभूत उपकरण किन छैन, सडक किन अव्यवस्थित छ, फोहोर व्यवस्थापन किन प्रभावकारी छैन र पार्किङ किन अस्तव्यस्त छ भन्ने सामान्य नागरिक चेतनाका विषयमा आवाज उठाइरहन बाध्य छौँ।
यस्ता प्रश्न उठाउँदा कहिले घरपरिवारबाट गाली सुनिन्छ, कहिले समाजले “पागल” को उपमा दिन्छ। तर मौन बस्नु भनेको अर्को परिवारलाई पनि यही नियति भोग्न बाध्य बनाउनु हो।
हामीलाई विलासी अस्पताल चाहिएको होइन। चमत्कारिक सुविधा पनि होइन। हामीलाई केवल यति चाहिएको हो—जनताको करबाट चल्ने अस्पतालले कम्तीमा जीवन र मृत्युको दोसाँधमा पुगेका बिरामीका लागि आवश्यक आधारभूत सेवा दिन सकोस्।
सीटी स्क्यान मेसिन एउटा उपकरण मात्र होइन, यो राज्यले आफ्ना नागरिकको जीवनलाई कति महत्व दिएको छ भन्ने मापन गर्ने ऐना हो। जबसम्म जनताको जीवन राज्यको पहिलो प्राथमिकता बन्दैन, तबसम्म कलैयाजस्ता अस्पतालमा हुने यस्ता मृत्युहरू केवल स्वास्थ्य प्रणालीको असफलता होइनन्, ती हाम्रो राजनीति, प्रशासन र सामूहिक चेतनामाथिको कठोर अभियोग बनेर दोहोरिरहनेछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close