अत्यधिक गर्मीका कारण कलैयाका विद्यालय दुई दिनका लागिबन्द
कलैया ,असार ११ – बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै कलैया उपमहानगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार असार ११ गते बिहीबारदेखि असार १२ गते शुक्रबारसम्म उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय, मन्टेश्वरी तथा बालविकास केन्द्रदेखि कक्षा १२ सम्मका शैक्षिक संस्थामा पठनपाठन बन्द रहनेछ।
शिक्षा शाखाका प्रमुखद्वारा जारी सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गरिएको उल्लेख छ। बन्द अवधिलाई भने वार्षिक वर्षे बिदाबाट कट्टा गरिने जनाइएको छ।
पछिल्ला केही दिनयता तराईका जिल्लामा तापक्रम निरन्तर बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको अवस्थामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तहले यो निर्णय गरेको हो।
उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै गर्मीको समयमा बालबालिकालाई पर्याप्त पानी पिउन, घाममा लामो समय नबस्न र स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जान सुझाव दिइएको छ।
स्थानीयवासीले गर्मीको चाप बढिरहेका बेला विद्यालय बन्द गर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा लिएका छन्। मौसम अनुकूल भएपछि नियमित पठनपाठन सोमबार देखि पुनः सञ्चालन गरिने जनाइएको छ।





