तस्करी गरि भारत लग्ने तयारीमा रहेको १९ लाख बढीको फर्सीको बीउ बरामद,
सिरहा, जेठ १९ — सिरहामा प्रहरीले झन्डै २० लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद गरेपछि सीमावर्ती क्षेत्रमा कृषि उत्पादनको अवैध तस्करी भइरहेको बलियो प्रमाण बनेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार साँझ बरियारपट्टी गाउँपालिका–२ स्थित एक घरमा छापा मार्दा भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी अवस्थामा राखिएको ७० बोरा फर्सीको बीउ फेला पारेको हो।
प्रहरीका अनुसार स्थानीय हरिदेव दासको घरको ‘प्यासेज’मा लुकाइछिपाइ राखिएको उक्त बीउको प्रतिवोरा बजार मूल्य २८ हजार रुपैयाँ रहेको छ। बरामद गरिएको बीउको कुल मूल्य १९ लाख ६० हजार रुपैयाँ कायम गरिएको छ।
घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रको ८ वटै जिल्ला बाट फ्रसीको बीउ तथा अन्य वस्तुको अवैध कारोबार अझै सक्रिय रहेको संकेत गरेको छ। यति ठूलो परिमाणमा बीउ संकलन गरी लुकाइछिपाइ राखिएको अवस्थाले संगठित तस्करी सञ्जालको संलग्नता हुन सक्ने अनुमान गरिएको छ। यस्तै बारा जिल्लाको माटिअर्वा , बिस्रामपुर ,फेटा,पचरौता, सिम्रौनगढ र रौतहटको बन्कुल लगायतका ठाउँहरु बाट पछिलो समय तस्करीको रेसियो बढेको हो ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले बरामद गरिएको बीउ आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइएको जानकारी दिए।






