सीमा नाकामा निगरानी कडा, वीरगञ्जबाट अवैध औषधि नियन्त्रणमा

बिरगंज । पर्साको वीरगञ्ज नाका हुँदै अवैध औषधि ओसारपसार बढ्दै गएको संकेत देखिएपछि सशस्त्र प्रहरीले निगरानी कडा बनाएको छ। सोही क्रममा सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जले ठूलो परिमाणमा यौनवर्धक तथा गर्भनिरोधक औषधि बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट करिब रु ६ लाख २६ हजार मूल्य बराबरका औषधि नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा सवारी जाँचलाई तीव्र बनाउँदै जाँच गर्दा उक्त सामग्री फेला परेको बताइएको छ।
गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले जाँचका क्रममा बिलविजकविहीन अवस्थामा ठूलो मात्रामा सिल्डिनाफिल ट्याब्लेट, प्रेगआउट किट र एरोसल स्प्रे बरामद गरेको हो। यी औषधिहरू अवैध रूपमा भित्र्याई बजारमा आपूर्ति गर्न लागिएको आशंका गरिएको छ।
सीमा क्षेत्रमा औषधि तस्करीको जोखिम बढ्दै गएकाले सुरक्षा निकायले निगरानी थप कडा बनाएको जनाएको छ। बरामद गरिएका सबै औषधिहरू थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी विकास अधिकारीले जानकारी दिएका छन्।
सुरक्षा निकायका अनुसार पछिल्ला दिनहरूमा सीमावर्ती क्षेत्रमा यस्ता अवैध गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन भइरहेको छ, जसले आगामी दिनमा यस्ता तस्करी गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close