सशस्त्र प्रहरीका डिआईजी ढकालको संरक्षणमा पर्सामा संगठित तस्करी

वीरगंज । शक्तिकेन्द्रलाई रिझाएर वरिष्ठहरूलाई पाखा लगाउँदै बढुवा भई ठूलो आर्थिक चलखेल गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनीको कमान्ड पाएका नायब महानिरीक्षक (डिआईजी) कृष्ण ढकालले संगठित तस्करीको बाटो खोलेर कमाउने धन्दामा लागेको खबर छ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा पर्साका विभिन्न नाकाबाट तस्करी मौलाएको स्थानीयहरू बताउँछन्। डिआईजी ढकाल पदभार सम्हालेपछि तस्करहरू खुलेआम सक्रिय बनेका छन्।
साना सामानहरू बरामद गरेर देखावटी कार्यवाही गरिएको देखिए पनि ठूलो मात्रामा भइरहेको संस्थागत तस्करी भने रोकिएको छैन। खुला सीमाको लाभ उठाउँदै पर्साको सीमावर्ती क्षेत्रबाट रातको समयमा ठूलो परिमाणमा सामान भित्र्याउने क्रम तीव्र भएको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीले दिनको समयमा थोरै मात्रामा सामान बरामद गरी कारबाही देखाउने गरेको भए पनि रातको समयमा सेटिङ मिलाएर ठूलो परिमाणमा सामान नेपाल भित्र्याउने गरिएको छ।
डिआईजी ढकालले सीमामा तस्करीको ‘लाइन’ खोल्दै बिओपी तथा गुल्मका इन्चार्जमार्फत तस्करहरूबाट संकलन भएको रकम बुझ्ने गरेको सूचना प्राप्त भएको छ।
पर्साको प्रसौनीभाठा, अमरपट्टी, जानकीटोला, आसवारी, पाँडेपुर, छपकैया, ड्राइपोर्ट सिरीसिया, अलौ, तिलावेबर्वा, धोरे लगायतका सिमावर्ती क्षेत्रबाट ठूलो मात्रामा संगठित तस्करी भइरहेको स्थानीयवासीहरू बताउँछन्।
प्रसौनीभट्टाबाट कपडाको तस्करी

पर्साको प्रसौनीभाठा नाकाबाट वीरगंजको इनर्वा गाउँ निवासी चर्चित तस्कर राजकुमार यादव, जीतपुरका प्रदीप साह कलवार र तिलावे बर्वाका भुवन यादवको समूहले कपडा तस्करीको ठूलो नेटवर्क सञ्चालन गरिरहेको छ। उक्त तस्करीको लाइन राजकुमार यादवको नाममा सञ्चालन भइरहेको खुलासा भएको छ।
प्रसौनीभाठाबाट तस्करी गरेर ल्याइएको कपडा बहुर्वाभाठा, बिश्रामपुर, डकैला बहुअरी हुँदै जीतपुरसम्म पुग्ने गर्दछ। दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म १० देखि १२ वटा मोटरसाइकलमा कपडाको तस्करी हुने गरेको छ। भारतीय तस्करहरूले नेपाल-भारत सीमावर्ती क्षेत्र प्रसौनीभाठासम्म कपडा पुर्याइदिने र त्यसपछि नेपाली तस्करहरूले मोटरसाइकलमा लोड गरेर नेपालतर्फ ल्याउने गर्दछन्।
नेपाल भित्र्याएपछि ती कपडाहरू एउटै साधनमार्फत सीधा जीतपुर नलगी, विभिन्न स्थानमा मोटरसाइकल परिवर्तन गर्दै चरणबद्ध रूपमा पुर्याइने गरेको छ। प्रसौनीभाठादेखि जीतपुरसम्म तस्करी गर्नका लागि दुईवटा समूह सक्रिय रहेका छन्।
यो मार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका थुप्रै युनिटहरू तैनाथ भए पनि, तस्करहरू सबैसँग ‘सेटिङ’ मिलाई संरक्षण पाएको कारणले कसैले पनि उनीहरूलाई न रोकिन्छ, न त सोधपुछ नै गरिन्छ।
यस्ता आफुलाई एमालेका स्थानीय नेता बताउने पर्साका चर्चित राँगाभैंसी तस्कर, प्रसौनीभाठा निवासी अलि अहमदले राँगाभैंसी र काजु-किसमिससहित अन्य महँगा किराना सामानहरूको तस्करी गर्दै आएका छन्। अहिलेभन्दा पहिले उनले भरियामार्फत तस्करी गरिएका राँगाभैंसीहरू जितपुरसम्म डोर्याउने गर्थे। तर हाल उनले तस्करीको शैली परिवर्तन गरेका छन्। उनले हालै एउटा पिकअप गाडी खरिद गरेका छन् र सोही गाडी प्रयोग गरेर दैनिक ४/५ वटा राँगाभैंसीहरू लोड गरी दिनमै पाँचपटकसम्म तस्करी गरी जितपुरको भैंसी बजारसम्म पु-याउने गरेका छन्। गाडीको नम्बर प्लेट पहिचान नहोस् भन्ने उद्देश्यले प्लेटमा माटो पोतेर ढाकिने गरेको पाइन्छ। त्यतिमात्र होइन, उनले आफ्नो घरअगाडि एउटा किराना पसल पनि सञ्चालनमा ल्याएका छन्। सोही पसलको आडमा उनी रातको समयमा भारतबाट काजु, किसमिस लगायत महँगा सामानहरू तस्करी गरेर ल्याउने, घरमै भण्डारण गर्ने र बिहानपख ती सामानहरू पिकअपमा लोड गरी नेपालको विभिन्न स्थानहरूमा पठाउने गरेका छन्।

प्रसौनीभाठा नाकाबाट
लखनपुर निवासी रामशंकर र रमेश सहित ५ जनाको समुहले भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध,काजु र चकलेट तस्करीको लाईन पाएका छन । अर्का गर्दौल निवासी शहनी थरका तस्करले पनि भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध, काजु र चकलेट तस्करीको लाईन पाएका छन । यस्तै, प्रसौनीभाठा नाकाबाट तस्कर अजयले किराना समान, जितेन्द्र कपडा, प्रकाशले किराना समान, रबिन्द्र गुप्ता किराना सरफदेव ग्रुप कपडा, अबदुल खसिबाख्रा, रबिन्द्र साह किराना समान, हरिनारायण किराना, भारतका मुसहरवाका बिनय साह जुत्ताचप्पल, सुर्तीजन्य समान, राजनिवास, हार्डवेयर, मिठा, प्रकाश साह किराना, सुनिल किराना, अजय किराना, मनोज किराना, इन्द्रजित कष्टमेटिक, अनिल कष्टमेटिक समानको तस्करी गरिरहेका छन । यस्तै, धोरे नाकाबाट कपडा,चकलेट, किराना समान र जुत्ताचप्पलको तस्करी भइरहेको छ । यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन्।
अमरपट्टी नाकाबाट तस्करी

भारतका कुख्यात तस्कर विकास कुमारको टोलीले नेपालका तस्करहरूसँग मिलेर पर्साको अमरपटी र मधवलमा संगठित रूपमा तस्करी गरिरहेको स्थानीय स्रोतले जनाएको छ। उनीसँग चर्चित तस्कर उत्तम तिवारीसहितका समुह संलग्न छन्। पर्साको बिन्दबासिनी गाउँपालिका मधवल घर भएका चर्चित तस्कर उत्तम तिवारीसहितका समूहहरूले अमरपट्टी मधवल नाकाबाट कपडा, पपकन बनाउने मकै र चाइनिज समानको तस्करी तथा भारतीय औषधीको तस्करी गरिरहेको स्थानीय प्रत्यक्षदर्शीहरु बताएका छन। अमरपट्टी नाकाबाट मध्यरातीको समयमा कपडा, पपकन बनाउने मकै र चाइनिज समानको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन ।

यस्तै, अमरपट्टी नाकाबाट कुखुराको चल्ला तस्करीको काम स्वरुप र अन्य दुई जनाले गरिरहेका छन । उनिहरुले अमरपटी नाकाबाट चल्लाको ठूलो मात्रामा तस्करी गरिरहेका छन्। पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ। उनिहरुको समूहले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातिको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराका चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोतले नै बताएको छ। अमरपटी, मधवल, झौवा, ईटियाही, विश्रामपुरलगायत पाँच गाउँमा मात्र ८० देखि १०० वटासम्म कुखुरा फर्म तस्करीकै कुखुरा चल्लाको भरमा चलिरहेका छन्।
धोरे नाकाबाट पनि किराना समान तथा , लत्ताकपडा, पाउडर दूध, हार्डवेयर,भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक समानको तस्करी भइरहेको छ ।
पश्चिमी ग्रामिण भेग आसबारी, जानकीटोला र पाण्डेपुर नाकाहरूबाट अवैध रूपमा भारतीय राँगाभैसी तस्करी !
प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पाहुच रहेको धाक लगाउदै एमाले नेता जालिम मियाँ मंसुरीको कान्छो छोरा जफिर मियाँले राँगा, पाडा तथा भैंसीहरुको तस्करी धन्दा चलाइरहेको छ । पर्सा जिल्लाको पश्चिमी ग्रामिण भेग आसबारी, जानकीटोला र पाण्डेपुर नाकाहरूबाट अवैध रूपमा भारतीय राँगा, पाडा तथा भैंसीहरु नेपाल तर्फको बजारमा भित्रने क्रम बढेको छ। जगरनाथपुर गाउँपालिका -४ जगरनाथपुर निवासी एमाले नेता जालिम मियाँ मंसुरीको कान्छो छोरा जफिर मियाँले आफ्नै गाउँमा संचालन गर्दै आएका जगरनाथपुर पशु बजार नामक पशु हार्ट बजारमा शक्तिकेन्द्रकै आडमा भारतबाट अवैध रूपमा ल्याइएका तस्करीको राँगाभैसीहरु खुलेयाम खरिद बिक्री वितरण भइरहेको छ। सातामा आइतबार र बिहीबारका दिन लाग्ने पशु बजारमा ठुलो संख्यामा भारतीय सीमावर्ती गाउँहरूबाट आउने राँगाभैसीहरूको भरमा जगरनाथपुर बजार टिकेको स्थानीयहरुले बताए। सीमावर्ती भारतीय गाउँ गाउँबाट सस्तो मुल्यमा राँगाभैंसी खरिद गरेर उनीहरुले अबैध नाकाबाट तस्करी गरी नेपालमा महंगो मुल्यमा बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । त्यसरी भित्रिने राँगाहरु नेपालमा मासुका लागि खपत हुन्छन् । स्रोतका अनुसार जगरनाथपुरको पाण्डेपुर, जानकीटोला र बिजवनिया हुँदै शनिवार र बुधबार रातिसम्म आइतबार र विहीबार बजारका लागी पाँच/पाँचवटा ट्रकमा लोड हुनेगरि पाडा (रांगा) तस्करी भइरहेको छ । एकवटा ट्रकमा ३० वटासम्म पाडा अटाउँछन् एकहप्तामा ५/५ वटा गरी १० वटा ट्रक लोड भएर यहाँबाट जानेगरेको हप्ता दिन मै तिनसय बढी पाडा जगरनाथपुर वरपर कहाँबाट कसरी उत्पादन भइसक्छ ? नेपाल भेटनरी काउन्सिलमा दर्तावाल प्राइभेट पशु चिकित्सकहरुले भेटनरी स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको छ । हातोहात पैसा लिएर स्वास्थ्य प्रमाणित गरिदिने र प्रहरीले तस्करी गर्न छुट दिएकाले हप्तैपिच्छे तस्करी बढेको स्थानीय बताउँछन् ।सशस्त्र प्रहरीको अन्तर्राष्ट्रि सीमानामा रहेका बोर्डर आउट पोष्ट र प्रहरी चौकी अगाडीबाटै रातिराति अवैध राँगाको लस्कर नेपालतर्फ भित्रियाउने गरेको छ भने दिनको समयमा २/२ ४/४ वटा गरेर कटाउने गरेको छ । यस्ता राँगाभैसीहरुलाई डोर्याएर लैजान बजार संचालक जफिर मियाँले तिन दर्जन बढी व्यक्तिहरूलाई दैनिक मासिक तथा ज्यालामजदुरी काममा लगाएका छन्। नेपाल भित्र्याए पछि नेपालको वा भारतको भनेर चिन्न नसकिने भएका कारण पनि भारतबाट ल्याइएका राँगाभैसीहरूलाई नेपाली गाउँबाट खरिद गरेको देखाएर उनीहरुलाई नेपाली पशु प्रमाणित गरिन्छ । त्यसपछि उनीहरुलाई एमाले नेता जालिमका छोरा जफिर मियाँले कीर्ते भेटनरी प्रमाणित गराई पशुबजारबाट खरिदबिक्री गरेर नेपालको राजधानी काठमाण्डौं लगायतका शहरमा सजिलैसँग पठाउने गरेको बताइन्छ ।
यस्तै जानकीटोला नाकाबाट दसवता निवासी अफताब आलमले भारतबाट सख्खरको तस्करी गरिरहेका छन भने दसवता निवासी उमेश गुप्ता र दिपक साहले नेपालबाट चाईनिज लाईटर, चाईनिज१० फिटे ईन्चीटेप लगायतका चाईनिज समान, चुरोट, युनीलीवर कम्पनीका सबै समान, फेयरलवली, फेयरलवलीको पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, नेपाली उत्पादित बिभिन किसिमको पर्फिउम सेन्ट र विभिन्न किसिमको क्रिम र भारत प्रतिबन्धित प्लास्टिक जन्य समानलगायतको तस्करी गरिरहेका छन ।
त्यस्तै- आस्बारी नाकाबाट २/३ जनाको समुहले ठुलो मात्रामा कुखुराको चल्लाको तस्करी गरिरहेका छन, यसका अलावा त्याहाबाट गेहु, धान, रङ्गाभैसीको तस्करी हुने गरेको छ ।
भारतबाट विषाक्त माछा नेपाल भित्रिँदै, जनस्वास्थ्य र व्यवसाय जोखिममा

पर्साको सिमानाबाट भारतको आन्ध्रप्रदेशबाट मरेका र विषादी प्रयोग गरिएका माछा नेपाल भित्रिएको खुलासा भएको छ। सशस्त्र प्रहरीको मिलेमतोमा यस्ता माछा वीरगञ्ज हुँदै देशका विभिन्न भागमा पठाइँदै आएको छ।
स्थानीय स्रोतका अनुसार, तस्करहरूले मरेका माछालाई विषाक्त रसायन प्रयोग गरेर ताजा देखिने बनाइरहेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार यस्तो माछाले फुड प्वाइजनिङ, लिभर ड्यामेज, पाचन समस्या र क्यान्सरसम्मको जोखिम बढाउँछ।
पर्सा क्वारेन्टाइन कार्यालयले चासो नदेखाएको र परीक्षण नगरी माछा भित्र्याइँदा सर्वसाधारणले आपत्ति जनाएका छन्। यस्ता माछाको आयातले नेपाली माछा व्यवसायीको व्यवसायसमेत संकटमा परेको छ।
सशस्त्रको आडमा मौलाउँदै तस्करी: औषधिसहित चालक पक्राउपछि पोल खुल्यो !
सशस्त्र प्रहरीले मधवल नाकाबाट उतम तिवारीलाई `लाईन´ दिएर तस्करी गराएको पिकअप गाडीमा लोड औषधीसहित एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । गाडीमा लोड औषधीसहित चालक पक्राउ पछि संगठित तस्करी मौलाएको छताछुल्ल भएको छ। विशेष सूचनाका आधारमा मिति २०८२।०२।१२ गते अन्दाजी १४:३० बजे, जिल्ला पर्साको बिन्दवासिनी गाउँपालिका–४ स्थित मधवल सडकखण्ड हुँदै भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको औषधि लोड गरिएको ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको प्रहरी टोलीले रोकेको थियो। उक्त गाडी जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–५ निवासी २४ वर्षीय सुनिल कुमार रामले चलाइरहेका थिए। गाडीमा विभिन्न किसिमका औषधिहरू लोड गरिई वीरगञ्जतर्फ ल्याउँदै गरिएको पाइएको हो। सो औषधिहरूको आवश्यक विलबिजक (बीजक/चालान) नभएको पाइएपछि पिकअप गाडी, चालक सुनिल कुमार राम, र अन्दाजी रू. १२,७८,५२०।– (बाह्र लाख अठहत्तर हजार पाँच सय बीस रुपैयाँ) बराबरका बरामद औषधिहरू थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।
बढुवामा पहुँचको प्रभाव

सशस्त्र प्रहरी बलको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डिआईजी) बढुवामा वरिष्ठहरुलाई पाँखा लगाउँदै ढकालको नाम सिफारिस भएको थियो । गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले २०८१ फागुन ८ गते बिहीबार कृष्ण ढकालसहित तिन जनालाई बढुवा सिफारिस गरेको हो ।१ नम्बरमा सिफारिस भएका कृष्ण ढकाल मुख्यसचिव एकनारायण अर्यालका नातेदार हुन्। ससुरालीतिरका नातेदार ढकाललाई मुख्यसचिव अर्यालले च्यापेपछि कृष्ण पाठक, मनिष थापा रिङ आउँट भएका थिए। बल्लतल्ल स्टाफ कलेज गरेका ढकाललाई डिआईजी बनाउन मुख्यसचिव नै लागेपछि पाठक र थापा रिङ आउँट भएका थिए।सशस्त्र प्रहरी बल नेपाल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका डिआईजी कृष्ण ढकालसँग प्रतिक्रिया लिनका लागि ६ दिनदेखि पटक–पटक फोनमार्फत सम्पर्क प्रयास गरिए पनि उनले सम्पर्कमा आउन चाहेनन्। सभार ः birgunjexpress.com





