निजगढ देखि सिम्रौनगढ जनजीवनका मुद्दा लिएर संतोष दंगालले तताए चुनावी माहोल
तारा छाप’ मात्र होइन, नीति–कार्यक्रमको बहसले ततायो चुनावी माहोल

माघ,१५ रामबाबु मेहता,
निजगढ देखि सिम्रौनगढ नगरमा चुनावी सरगर्मी बढ्दै जाँदा यसपटक माहोल केवल चुनाव चिन्हको प्रचारमा सीमित नभई नीति, कार्यक्रम र जनजीवनका मुद्दा केन्द्रमा पुगेका छन्। बारा क्षेत्र–१ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार संतोष दंगालले प्रस्तुत गरेका एजेन्डाले स्थानीय बौद्धिक वर्ग, शिक्षक, कृषक र श्रमिक समुदायमा गम्भीर बहस सुरु गराएको छ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न नगर स्तरीय अगुवा भेलामा दंगालले शिक्षा सुधार, कृषिमा प्रविधि भित्र्याउने योजना, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउने स्पष्ट खाका प्रस्तुत गरेपछि भेलाको स्वरूप सामान्य राजनीतिक कार्यक्रमभन्दा फरक देखिएको थियो। सहभागीहरूले उनको भाषणलाई नाराभन्दा बढी कार्ययोजना–केन्द्रित प्रस्तुतिका रूपमा लिएका छन्। 
स्थानीय बुद्धिजीवीहरूको भनाइमा यसपटक निजगढको चुनावी बहस “को उम्मेदवार?” भन्दा बढी “कुन नीति?” र “कुन दृष्टिकोण?” मा केन्द्रित हुन थालेको छ। एक सहभागीले भने,
“निजगढलाई विकासका लागि भावनात्मक भाषण होइन, स्पष्ट योजना र इमानदार नेतृत्व चाहिएको छ।”
यही सन्देशसँगै दंगालको उम्मेदवारीलाई धेरैले वैकल्पिक नेतृत्वको रूपमा हेर्न थालेका छन्। नगरभित्र चुनावी चर्चा बढेसँगै राजनीतिक माहोल पनि व्यक्तिकेन्द्रित प्रचारभन्दा मुद्दाकेन्द्रित बहसतर्फ मोडिँदै गएको संकेत देखिएको छ।
यसरी निजगढमा चुनाव अब केवल तारा छापको प्रचार नभई विकास, रोजगारी, शिक्षा र अर्थतन्त्र जस्ता मुद्दामा आधारित राजनीतिक बहसको नयाँ चरणमा प्रवेश गरेको स्थानीय विश्लेषकहरूको बुझाइ छ।






