यहीँ संविधान भित्रबाट निकास खोजिनु पर्छ : प्रचण्ड
यहीँ संविधान भित्रबाट निकास खोजिनु पर्छ : प्रचण्ड जेन-जी आन्दोलनमा घुसपैठ गरी प्रतिगामी तत्वले विध्वंस मच्चाएको माओवादीको ठहर, बर्बर दमनको न्यायिक छानबिन गर्ने
२६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुशासनको माग गर्दै सुरु भएको जेन-जी आन्दोलनमा प्रतिगामी तत्वले घुसपैठ गरी तोडफोड, लुटपाट र आगजनीजस्ता विध्वंसात्मक गतिविधि गरेको ठहर गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा यो विध्वंस जेन-जी आन्दोलनकारीको आदर्श र उद्देश्य विपरीत रहेको दाबी गरिएको छ। विज्ञप्तिमा आन्दोलनको क्रममा भएको बर्बर दमन, नरसंहार तथा तोडफोड, लुटपाट र आगजनीका घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरिएको छ। माओवादीले जेन-जी युवाहरूले उठाएका सुशासनसम्बन्धी एजेन्डाहरूलाई सही ठहऱ्याए पनि सरकारले पहिलो दिन नै निर्मम दमन गरेर भयानक नरसंहार मच्चाएको आरोप लगाएको छ।
जेन-जीका एजेन्डा हाम्रै हुन्ः प्रचण्ड
माओवादी केन्द्रले जेन-जी युवाहरूले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, र उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिनका लागि आयोग गठनजस्ता मुद्दाहरू आफ्नो पार्टीले पहिलेदेखि नै उठाउँदै आएको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, जेन-जी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो रु यसको बारेमा हामीले गम्भीर रूपमा सोच्नै पर्छ।
अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेबीचको असंवैधानिक र अप्राकृतिक गठबन्धनले नै अहिलेको दुःखद अवस्था आएको भन्दै आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध चालेका कदमबाट आत्तिएका स्वार्थ समूहको सेवामा वर्तमान सरकार लागेकोले जनताको आक्रोश विस्फोट भएको बताएका छन्। उनले संसदमा आफूले पटक-पटक सरकारलाई सचेत गराउँदा पनि दुई तिहाईको दम्भमा सरकार असंवेदनशील बनेको आरोप लगाए।
सङ्कटको निकास संविधानसम्मत तरिकाले हुनुपर्नेमा जोड
माओवादी केन्द्रले वर्तमान सङ्कटको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोज्नुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्र हुन सक्ने भन्दै प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन सबैलाई अपिल गरिएको छ।
अध्यक्ष प्रचण्डले जेन-जी पुस्ताले उठाएका मागहरूलाई लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न राष्ट्रपतिबाट भइरहेको पहलको सराहना गरेका छन्। उनले शान्ति सुरक्षा कायम राख्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गर्दै सबै पक्षलाई संयमता अपनाएर शान्तिपूर्ण संवादमा आउन आह्वान गरेका छन्। साथै, पार्टीका सबै सदस्यलाई जनताको जीउधनको सुरक्षाका लागि तयार रहन निर्देशन दिएका छन्। 

प्रेस बिज्ञाप्ती






