“दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी, सिम्रौनगढ नगरपालिकाका सबै कार्यालय बन्द”
बिधालय छोडी शिक्षक पनि आन्दोलनमा

बारा । सिम्रौनगढ नगरपालिकामा गत सोमबार नगर उप–प्रमुख नजमु शेहरले प्रशासकीय अधिकृत बिरबहादुर लहेरामाथि दुव्र्यवहार गरेको घटनाप्रति कर्मचारी पक्षले आज बाट आझ कडा आन्दोलन सुरु गरेका हुन् ।
कर्मचारीहरूले जारी राखेको आन्दोलनमा शिक्षक पनि बिधालय छोडेर आन्दोलनमा होमिएका हुन । नगर उप–प्रमुख शेहरले कार्यालयको मर्यादा, प्रशासनिक पदको गरिमा र कर्मचारीको सम्मानविरुद्ध जाने गरी अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। 
स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री प्रशासन कायम गर्नुपर्ने समयमा जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुनु निन्दनीय छ। कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
कर्मचारी पक्षले सम्मानजनक कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम नरोकिने चेतावनीसमेत दिएको हो ।
कर्मचारी संघर्ष समितिका अनुसार उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरालाई कार्यकक्षमा बोलाई दुर्व्यवहार गरेको आरोप छ। सो घटनापछि प्रमुख प्रशासकीय अधिकृतले गत मंगल वार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए भने नगर प्रमुखले पनि जिल्ला प्रशासन कार्यालयमा आवश्यक कारबाहीका लागि पत्राचार गरेका थिए। तर हालसम्म जाहेरी दर्ता तथा कुनै ठोस निर्णय नआउँदा कर्मचारीहरू अझ आक्रोशित भएका हुन्।
संघर्ष समितिका संयोजक सुरेश प्रसाद यादवद्वारा घोषित आन्दोलन कार्यक्रमअनुसार माघ ४ गतेदेखि सिम्रौनगढ नगरपालिका कार्यालयको मुख्य गेट अगाडि धर्ना कार्यक्रम सुरु गरिएको छ। माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन, र्याली तथा जिल्लास्तरीय प्रदर्शन समेत गर्ने संघर्ष समितिले चेतावनी दिएको छ।





