स्थापना दिवसमा मानवीय सेवा: पत्रकार महासंघ बारा शाखाद्वारा बिरामीलाई फलफूल वितरण


बारा। नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसका अवसरमा महासंघको बारा शाखाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रादेशिक अस्पताल कलैयामा उपचाररत बिरामीहरूलाई फलफूल तथा पौष्टिक सामग्री वितरण गरेको छ।
सोमबार साँझ आयोजित कार्यक्रममा अस्पतालमा रहेका ६५ जना बिरामीलाई अण्डा, जुससहित विभिन्न फलफूल वितरण गरिएको महासंघले जनाएको छ। महासंघको टोली अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै सामग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यता रहेको थियो। उनले कार्यक्रममा बोल्दै नेपालमा लोकतान्त्रिक आन्दोलनको संवाहक तथा नागरिक अधिकारको पहरेदारका रूपमा महासंघले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहितका लागि महासंघ सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
त्यसैगरी, बारा शाखाका अध्यक्ष रमेश सुवेदीले समाज परिवर्तन र लोकतन्त्र सुदृढीकरणमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताउँदै व्यावसायिक तथा जिम्मेवार पत्रकारितामा जोड दिए।
कार्यक्रममा महासंघ मधेस प्रदेश समिति कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मंसुर, सक्रिय पत्रकारहरू रमेश ठाकुर, प्रभु यादव, नरेश गुप्ता, धिरेन्द्र तिवारी, रमेश साह, अरविन्द सिंहलगायत अग्रज पत्रकार तथा नागरिक समाज जिल्ला कार्यसमिति बाराका अध्यक्ष उमेशलाल दासको उपस्थिति रहेको थियो। साथै अस्पतालका प्रतिनिधि चिकित्सकहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा शाखाका उपाध्यक्ष पन्नालाल दासले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए। शाखा अध्यक्ष सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा सचिव पुष्पराज खतिवडाले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close