बारामा चक्कु प्रहारबाट युवकको मृत्यु, आरोपितसहित ६ जना नियन्त्रणमा

बारा । जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट ३५ वर्षीय शेरबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय आयुष राईलाई पक्राउ गर्नुका साथै अनुसन्धानका लागि अन्य पाँच जनालाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार हिजो शनिबार साँझ करिब साढे पाँच बजे राईले खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा साँझ पौने सात बजे मृत्यु भएको हो। चक्कु प्रहर गरि हत्या गर्ने मुख्री आरोपित फरार राईलाई प्रहरीले गए राति करिब १० बजे जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको बारा जनाएको छ।
घटनापछि खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा SOCO सहितको मुचुल्का टोली घटनास्थल पुगेको थियो।
सिमरा नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि खड्कालाई वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो। तर, उपचारकै क्रममा साँझ ६ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव बयोधा अस्पतालमै राखिएको छ।
घटनापछि फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले राति करिब १० बजे जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानबारीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा प्रहरीले अन्य पाँच जनालाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ तथा घटनाको कारण, चक्कु प्रहारको परिस्थिति र संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले घटनाको वास्तविक कारण तथा घटनामा अन्य व्यक्तिको भूमिका रहे–नरहेको विषय अनुसन्धानपछि स्पष्ट हुने जनाएको छ।





