बाराकाअग्रज पत्रकार आलमको जीवन रक्षाका लागि सहकर्मीहरूको ऐक्यबद्धता चितवनस्थित भरतपुर अस्पतालको सघन

बारा , मंसिर २९ । चितवनस्थित भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचाररत बाराका अग्रज पत्रकार फैजुल्लाह आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा उपचार खर्च परिवारका लागि ठूलो चुनौती बनेको छ। ब्रेनहेमरेजका कारण लामो समयदेखि जीवन–मरणको संघर्षमा रहनुभएका आलमको उपचार निरन्तरताका लागि ठूलो आर्थिक स्रोत आवश्यक परिरहेको छ।
यस कठिन अवस्थामा पत्रकारिताको मूल्य र मानवीय संवेदनालाई आत्मसात गर्दै नेपाल पत्रकार महासंघ बारा शाखाले सहयोगको हात अघि बढाएको छ। महासंघका अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा रु. २० हजार बराबरको आर्थिक सहयोग पत्रकार आलमको परवानीपुरस्थित निवासमा पुगेर उहाँकी धर्मपत्नीलाई हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका कोषाध्यक्ष रन्जन यादव तथा कार्यसमिति सदस्य नवीन चौधरीको उपस्थिति रहेको थियो। अध्यक्ष सुवेदीले पत्रकार आलमले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान स्मरण गर्दै उहाँको जीवन रक्षाका लागि सामूहिक प्रयास अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो।
महासंघले प्रदान गरेको सहयोग तत्कालीन राहत भए पनि उपचारका लागि अझै ठूलो रकम आवश्यक रहेको बताइएको छ। यसै सन्दर्भमा महासंघ बारा शाखाले सम्पूर्ण सञ्चारकर्मी, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका सबैलाई मानवीय भावनाका साथ सहयोग गर्न अपिल गरेको छ।
पत्रकारिताको उज्यालो बोकेर समाजसेवामा समर्पित एक अग्रज पत्रकारको जीवन बचाउन गरिएको यो पहलले संकटको घडीमा सहकर्मीबीचको एकता र मानवीयताको सशक्त सन्देश दिएको छ।






