१९ वर्षपछि पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त चौधरी अदालतमा हाजिर, पुर्पक्षका लागि कारागार चलान
लामो समयदेखि प्रहरीले पक्राउ गर्न नसकेको लालबहादुर चौधरी धामी आफै अदालतमा उपस्थित भएपछि हत्यासम्बन्धी बाँकी कानुनी प्रक्रिया अघि बढ्यो

कलैया, १४ कात्तिक। बाराका पत्रकार वीरेन्द्रकुमार साहको अपहरणपछि हत्या गरिएको घटनाको १९ वर्षपछि मुख्य अभियुक्तमध्येका एक लालबहादुर चौधरी धामी अदालतमा उपस्थित भएका छन्। लामो समयदेखि नेपाल प्रहरीले पक्राउ गर्न नसकेका फरार रहँदै आएका चौधरी कार्तिक १२ गते बिहीबार आफै अदालतमा हाजिर भएपछि बारा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि सोही दिन वीरगन्ज कारागार चलान गरेको छ।
२०६४ सालमा भएको उक्त हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका चौधरी गत बिहीबार जिल्ला अदालतमा उपस्थित भएका थिए। उनको उपस्थितिसँगै झन्डै दुई दशकदेखि चर्चामा रहेको पत्रकार साह हत्या प्रकरणमा बाँकी रहेको न्यायिक प्रक्रिया अघि बढेको छ। २०६४ असोज १८ गते बाराको साविक उम्जन गाविसस्थित पिपरा बजारबाट पत्रकार साहलाई अपहरण गरिएको थियो। उनीसँगै रहेका रामदेव दासलाई पनि अपहरण गरिए पनि पछि मुक्त गरिएको थियो। अपहरणको करिब ३५ दिनपछि कात्तिक २२ गते साविक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा साहको शव फेला परेको थियो। तालिम प्राप्त कुकुरको सहयोगमा ठूलो रुखमुनि गाडिएको शव फेला पारिएको थियो। अनुसन्धानबाट उनलाई गोली हानी हत्या गरिएको खुलेको थियो।
साह एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध थिए। तत्कालीन नेकपा (माओवादी) का कार्यकर्तामाथि घटनामा संलग्न रहेको आरोप लागेको थियो। तत्कालीन जनसरकार प्रमुखसमेत रहेका चौधरीसहित नरेन्द्र फौजदार, हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनी अभियुक्तका रूपमा जोडिएका थिए। घटनामा संलग्नताको आरोपमा मनेजर गिरी र रामएकवाल सहनी पक्राउ परेका थिए। बारा जिल्ला अदालतले २०६८ जेठ १६ गते उनीहरूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। त्यस्तै, फरार रहेका नरेन्द्र फौजदार २०७६ फागुन २५ र हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते पक्राउ परेका थिए। अदालतले २०७८ पुस २६ गते फौजदारलाई पाँच वर्ष र कुर्मीलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। उनीहरू सजाय भुक्तान गरेर रिहा भइसकेका छन्।
लामो समयसम्म फरार रहेका चौधरीको खोजीका लागि नेपाल पत्रकार महासङ्घलगायत पत्रकार तथा मानवअधिकारसम्बन्धी संस्थाहरूले निरन्तर दबाब दिँदै आएका थिए। महासङ्घले घटनापछि गठन गरेको छानबिन टोलीले तत्कालीन माओवादी कार्यकर्ताको संलग्नता औँल्याएको थियो।
चौधरी अदालतमा उपस्थित भई कारागार चलान भएपछि पीडित परिवारले लामो प्रतीक्षापछि न्यायको आशा पलाएको प्रतिक्रिया दिएको छ। स्वर्गीय पत्रकार साहका भाइ भैयाराम साहले वर्षौँको प्रतीक्षापछि परिवारले न्यायको अनुभूति गर्न थालेको बताए।






