भन्सार नहुँदा सिम्रौनगढका व्यापारी पलायनको अवस्थामा

सिम्रौनगढ, बारा । बाराको सिम्रौनगढमा भन्सार कार्यालय सञ्चालनमा नहुँदा स्थानीय व्यापारीहरू पलायन हुने अवस्थामा पुगेको भन्दै उद्योग वाणिज्य संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नगर उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष जयन्त कुशवाहाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा व्यापारीहरूले भन्सारको अभावका कारण व्यापारिक गतिविधि प्रभावित भएको गुनासो गरेका हुन्।
पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष रामबाबु कुशवाहा र निवर्तमान अध्यक्ष लालबाबु कुशवाहाले सिम्रौनगढमा भन्सारको व्यवस्था नहुँदा स्थानीय व्यापारीहरू ठूलो समस्यामा परेको बताए। भन्सार सुविधा नहुँदा व्यापारिक कारोबार प्रभावित हुनुका साथै व्यापारीहरू अन्यत्र पलायन हुने अवस्था सिर्जना भएको उनीहरूको भनाइ थियो।
उनीहरूले लामो समयदेखि सिम्रौनगढमा भन्सार सञ्चालनको माग उठाउँदै आए पनि सम्बन्धित निकायबाट अपेक्षित पहल हुन नसकेको गुनासो गरे। सीमावर्ती क्षेत्रमा रहेको सिम्रौनगढमा भन्सारको प्रभावकारी व्यवस्था भए स्थानीय व्यापार व्यवसाय विस्तार हुनुका साथै राजस्व संकलनमा समेत योगदान पुग्ने उनीहरूको तर्क थियो।
व्यापारीहरूका समस्या समाधानका लागि संघले अब सरकारी निकायसँग प्रत्यक्ष छलफल गर्ने जनाएको छ। संघका पदाधिकारीहरूले आगामी मंगलबार बाराका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी सिम्रौनगढमा भन्सार सञ्चालन तथा व्यापारीका समस्याबारे गम्भीरतापूर्वक पहल गर्न आग्रह गर्ने बताएका छन्।
स्थानीय व्यवसायीहरूले भन्सारको अभावमा व्यापार सञ्चालन गर्न कठिन भइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार भन्सारको सहज व्यवस्था नहुँदा सीमावर्ती क्षेत्रको व्यापारिक सम्भावना समेत खुम्चिँदै गएको छ।
उद्योग वाणिज्य संघले व्यापारीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close