६१ प्रहरीको अभावमा बारा : सीमित जनशक्तिबाटै सुरक्षा व्यवस्थापनको चुनौती

बारा — राजमार्गदेखि औद्योगिक क्षेत्र र नेपाल–भारत सीमासम्म फैलिएको बारामा सुरक्षाको जिम्मेवारी सम्हाल्ने प्रहरी नै जनशक्ति अभावमा छ। जिल्लाभर नेपाल प्रहरीको स्वीकृत दरबन्दी ९५३ रहे पनि हाल ८९२ जना मात्रै कार्यरत छन्। अर्थात् स्वीकृत दरबन्दीअनुसार ६१ जना प्रहरीको कमी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्लाको भौगोलिक अवस्था, बढ्दो जनसंख्या, औद्योगिक गतिविधि, सीमा क्षेत्र तथा राजमार्गमा हुने आवतजावतलाई हेर्दा प्रहरीको जिम्मेवारी निरन्तर बढिरहेको छ। तर आवश्यक दरबन्दीअनुसार जनशक्ति उपलब्ध नहुँदा सीमित प्रहरीबाटै शान्ति सुरक्षा, अपराध नियन्त्रण, सीमा निगरानी र नागरिक सेवाको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार उपलब्ध जनशक्तिलाई आवश्यकता र जोखिमका आधारमा विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। जनशक्ति तथा स्रोत–साधनको कमी भए पनि सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिन प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको उनले बताए।

जिल्लामा प्रहरी जनशक्तिसँगै भौतिक पूर्वाधार र आवश्यक उपकरणको समेत अभाव रहेको प्रहरीको भनाइ छ। विभिन्न प्रहरी युनिटमा ड्युटीका लागि आवश्यक मोटरसाइकल, फ्यान, सुत्ने ओछ्यान तथा पर्याप्त भवनसमेत नहुँदा कार्यसम्पादनमा चुनौती थपिएको एसपी कुँवरले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मीनबहादुर घलेका अनुसार जिल्लामा हाल ५२ वटा प्रहरी युनिट छन्। तीमध्ये १५ वटा युनिट अस्थायी प्रकृतिका छन्। स्वीकृत दरबन्दी ९५३ भए पनि ८९२ जना मात्रै कार्यरत रहनुले जिल्लाको सुरक्षा संयन्त्रमा जनशक्तिको दबाब देखिएको छ।

प्रहरीले राजमार्ग, औद्योगिक क्षेत्र, सीमा नाका तथा संवेदनशील बस्तीलाई प्राथमिकतामा राखेर नियमित गस्ती, चेकजाँच र निगरानी गरिरहेको जनाएको छ। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम तथा नागरिकसँगको समन्वयसम्बन्धी गतिविधिलाई समेत निरन्तरता दिइएको छ।

यसैबीच, प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीको एपमार्फत गुनासा, उजुरी तथा सूचना पठाउन सकिने व्यवस्था रहेको एसपी कुँवरले जानकारी दिए।

जिल्लाको सुरक्षा चुनौती बढ्दै जाँदा स्वीकृत दरबन्दीअनुसार प्रहरी जनशक्ति उपलब्ध गराउनु र आवश्यक पूर्वाधार तथा स्रोत–साधन थप गर्नु सुरक्षा व्यवस्थापनको महत्वपूर्ण आवश्यकता बनेको छ। सीमित जनशक्तिबाट प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेको भए पनि दीर्घकालीन रूपमा भने जनशक्ति र पूर्वाधार व्यवस्थापनमा राज्यको थप ध्यान आवश्यक देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close