नेपालबाट भारततर्फ लैजान लागिएको ९० लाखको फर्सीको बिउ बन्कुलबाट बरामद

रौतहट, असार ११ — नेपाल–भारत सीमामा हुने अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाइरहेका बेला रौतहटको बन्कुलबाट ठूलो परिमाणमा फर्सीको बिउ तस्करी गर्ने प्रयास विफल भएको छ। प्रहरीले बुधबार सान्झ ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गर्दै सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जालको गतिविधि उजागर गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बौधीमाई नगरपालिका–७ बाडको बंकुल टोलस्थित सीमावर्ती क्षेत्रमा लुकाइछिपाइ राखिएको ३२२ बोरा (१२ हजार ८८० किलोग्राम) फर्सीको बिउ बरामद गरिएको हो। उक्त बिउ भारततर्फ अवैध रूपमा निकासी गर्ने तयारी भइरहेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विशेष अपरेसन सञ्चालन गरेको थियो।
प्रहरीका अनुसार बरामद गरिएको बिउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्पूर्ण सामग्री जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।
बरामद कार्यका क्रममा केही स्थानीय व्यक्तिहरूले प्रहरी कारबाहीमा अवरोध सिर्जना गर्दै ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। घटनामा तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।
रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको बताए। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा तस्करी सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय रौतहट र बारा क्षेत्रका विभिन्न चोर नाकामार्फत चिनियाँ फर्सीको बिउ भारतका विभिन्न राज्यमा पुर्‍याउने क्रम बढेको सुरक्षा निकायको भनाइ छ। भारतमा फर्सीको बिउ स्वास्थ्यवर्द्धक खाद्य पदार्थ (डाइट फुड) का रूपमा प्रयोग हुने भएकाले यसको माग बढ्दै गएको बताइन्छ।
यसअघि पनि करिब एक महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतको घोडासहन क्षेत्रमा नेपालबाट तस्करी हुँदै गएको झन्डै ७० लाख रुपैयाँ बराबरको फर्सीको बिउ बरामद गरेको थियो। पछिल्ला घटनाहरूले सीमावर्ती क्षेत्रमा फर्सीको बिउ तस्करी संगठित रूपमा भइरहेको संकेत गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close