रास्वपाको सिम्रौनगढमा पहिलो नगर अधिवेशन सम्पन्न, राजु गुप्ताको नेतृत्वमा नयाँ समिति गठन

बारा, जेठ १७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिम्रौनगढ नगरपालिकामा आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गर्दै नयाँ नगर नेतृत्व चयन गरेको छ। अधिवेशनबाट राजु गुप्ता सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका छन्।
सिम्रौनगढ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नगर समिति गठन गरेको हो। नवगठित समितिको सचिवमा सुरेश प्रसाद यादव तथा सहसचिवमा रामबाबु कुशवाहा चयन भएका छन्। समितिमा ओमप्रकाश ठाकुर, दीपेन्द्र यादव, कलावती देवालगायतलाई सदस्यको जिम्मेवारी दिइएको छ।
अधिवेशनमा पार्टीका जिल्ला तथा क्षेत्रीय तहका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा डा. द्वारिका उप्रेती, गणेश प्रसाईं, विशाल भट्टराई, श्यामसुन्दर उप्रेती र बसन्त यादवलगायतका नेताहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति रजनीश कुशवाहाले सीमित संगठनात्मक संरचना र चुनौतीपूर्ण परिस्थितिका बीच पनि पार्टीले निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गरे। उनले नवगठित नगर समितिले सिम्रौनगढमा पार्टी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
सिम्रौनगढ नगरपालिकाका ११ वटै वडाका सभापति, पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न अधिवेशनलाई स्थानीय स्तरमा रास्वपाको संगठन विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। नवगठित समितिले नगरस्तरमा पार्टीको गतिविधिलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close