नेपालतर्फबाट फुत्कियो, भारतमा समातियो : बाराको सीमाबाट ३० किलोभन्दा बढी गाँजा बरामद


रामबाबु मेहता १५ वैशाख । नेपालतर्फबाट सहजै पार भई सीमासम्म पुगेको लागुऔषध भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि सीमाक्षेत्रको निगरानीमाथि प्रश्न उठेको छ। बाराको सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लैजान लागिएको ३० किलोभन्दा बढी गाँजा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।
सोमबार साँझ करिब ५ बजेतिर भारतीय क्षेत्रको बिओपी झरोखर चेकपोस्टमा नियमित जाँच भइरहेका बेला नो म्यान्स ल्याण्डमा भारत प्रवेशका लागि पालो कुरेर उभिएका सवारीमध्ये एक टाटा सफारी शंकास्पद देखिएको थियो। सुरक्षाकर्मीले रोकेर जाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएको र त्यसपछि गरिएको विस्तृत तलासीमा प्लास्टिकका प्याकेटमा राखिएको गाँजा फेला परेको भारतीय पक्षले जनाएको छ।
बीआर ०५ पी ७३१८ नम्बरको उक्त गाडी सीमा स्तम्भ नम्बर ३५७/०३ नजिक झरोखर गाउँ आसपासको क्षेत्रमा रोकिएको थियो। एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट विश्वजित तिवारीका अनुसार ३० किलोभन्दा बढी गाँजा बरामद गरिएको हो। गाडीभित्र सवारी दर्ता प्रमाणपत्र समेत भेटिएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानमा उक्त गाँजा मकवानपुरबाट बारा हुँदै सीमासम्म ल्याइएको हुन सक्ने अनुमान गरिएको छ। नेपालतर्फको सुरक्षा संयन्त्रले पत्ता लगाउन नसकेको लागुऔषध भारततर्फ पुगेपछि मात्र नियन्त्रणमा आउनुले सीमाक्षेत्रमा निगरानी प्रभावकारिताबारे प्रश्न उठाएको स्थानीयले बताएका छन्। फरार चालकको खोजी जारी रहेको भारतीय प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close