बारामा प्रेम प्रसङ्गमा पति र सासुको हत्या २ जना घाइते २ जना पक्राउ

रामबाबु मेहता,माघ १४
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडमा भएको दोहोरो हत्याकाण्डले स्थानीय समाज मात्र होइन, प्रहरी अनुसन्धान संयन्त्रलाई पनि गहिरो झड्का दिएको छ। प्रेम सम्बन्धको नाममा भएको यो घटनाले एकै परिवारभित्र विश्वास, सम्बन्ध र सुरक्षाको आधार नै भत्किएको देखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी धमेन्द्र महतोको योजनाबद्ध षड्यन्त्रका कारण मनिताकै श्रीमान् २८ वर्षीय रामेश्वर मण्डल र सासु ४६ वर्षीया सुमिन्त्रा देवीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
विदेशबाट फर्किएपछि रचेको योजना
प्रहरी स्रोतका अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत थिए। माघ १२ गते नेपाल फर्किएपछि उनले मनितासँग पुनः सम्पर्क बढाउँदै घटनाको योजना बनाएको खुलेको छ।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानले घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल रहेको देखाएको छ। “यो भावनात्मक आवेगको घटना होइन, योजनाबद्ध आपराधिक गतिविधि हो। प्रहरी श्रोत जनाएको छ ,भने फरक–फरक स्थानबाट दुई जनालाई पक्राउ
घटनापछि प्रहरीले मनिता देवी मण्डललाई घरबाटै र धमेन्द्र महतोलाई वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ गरिएको दुवै जनालाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाको छ ।
प्रहरीका अनुसार अब घटनाको आर्थिक, सामाजिक र मनोवैज्ञानिक पक्षसमेत अध्ययन गरी विस्तृत अनुसन्धान प्रतिवेदन तयार गरिने छ । समाजमा गहिरो त्रास र प्रश्न
घटनापछि रहरियाड गाउँ शोक, त्रास र आक्रोशमा डुबेको छ। छिमेकीहरूका अनुसार यस्तो घटना आफ्नै घरभित्रबाट हुने कल्पनासमेत गर्न सकिँदैन।
यस घटनाले पारिवारिक सम्बन्ध, सामाजिक नैतिकता र प्रेम सम्बन्धको नाममा हुने अपराधप्रति गम्भीर प्रश्न उठाएको छ। सुरक्षा निकायका अनुसार यस्ता घटनामा भावनात्मक सम्बन्धभन्दा पनि आपराधिक मनोवृत्ति र योजनाबद्ध सोच मुख्य कारण बन्ने गरेको देखिन्छ।
प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ भने स्थानीय प्रशासनले पीडित परिवारलाई आवश्यक सहयोगको तयारी भइरहेको जनाएको छ।






