सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर आपत्ति

काठमाडौँ, भदौ १९ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारदेखि नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघातको रूपमा लिएको उल्लेख छ।

महासंघले सामाजिक सञ्जाल नियमन आवश्यक भएको स्वीकार गर्दै पनि विकल्पविहीन रूपमा नियन्त्रण गर्दा प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमा प्रत्यक्ष असर पर्ने जनाएको छ। “सामाजिक सञ्जाल नियमनको पक्षमा भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने कुनै कदमलाई कदापि स्वीकार गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ।

सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने मात्र नभई नागरिकको सूचनामा पहुँच कमजोर हुने भएकाले महासंघले तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण फिर्ता लिन माग गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close