रसुवामा आएको बाढीमा नेपाल प्रहरीमा कार्यरत बाराका मुन्ना ठाकुर पनि बेपत्ता

वीरगञ्ज । रसुवागढी क्षेत्रमा गए राति आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

बाढीमा परी बाराको फेटा गाउँपालिका–१, भलुहीका मुन्ना ठाकुर पनि बेपत्ता भएका छन् । ठाकुर नेपाल प्रहरीमा कार्यरत थिए ।

बाराको फेटा गाउँपालिकाका समाजसेवी विक्की महतोले ठाकुर पनि बाढीमा बेपत्ता भएको पुष्टि गरेका छन् । बेपत्ता ठाकुरसहित अन्यहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा २० जना बेपत्ता भएका छन् ।

बेपत्तामध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा कार्यरत ६ जना, डिब्बा चालक ५ जना र ६ जना चिनियाँ नागरिक छन् । बाढीले सुक्खा बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको छ । २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा सवारी बगेका छन् ।

साथै, १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रको ड्यामसाइट बगाउँदा उत्पादन पूर्ण रूपमा बन्द भएको छ । २० मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा बाढीको लेदो पस्दा उत्पादन बन्द छ भने माथिल्लो त्रिशूली ‘ए’ को ६० मेगावाटको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सीधा सम्पर्क टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको पुलमा क्षति भएको र रसुवागढीबाट ८० कोस उत्तरको चिनियाँ भूभाग छुसुमधोबाट आएको पहिरोले क्षति पुर्‍याएको प्राविधिकहरूको अनुमान छ ।

उद्धार कार्यमा नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सहायक प्रजिअ अधिकारीले बताए । बेपत्ताहरूको खोजी र क्षतिको थप विवरण सङ्कलनका लागि प्रशासन र सुरक्षा निकाय सक्रिय छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन स्थानीय प्रशासनले सरकारसँग समन्वय गरिरहेको छ । बेपत्ता मुन्ना ठाकुरलगायत अन्यको अवस्था पत्ता लगाउन परिवार र स्थानीय समुदायले पनि प्रशासनसँग सहयोगको अपिल गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close