आफू घोषणा पत्र अनुसार काम गरिरेको छु : नगर प्रमुख जैसवार

बारा,जेठ १० गते । निर्वाचन अघि घोषणा गरे अनुसार र जनतालाई दिएका वाचाहरू जस्तै कोल्ड स्टोर, सय शय्याको नगर अस्पताल र प्रत्येक गाउँमा पक्की सडक निर्माण मेरो पहिलो प्राथमिकता हो,” नगरप्रमुख जलन्धर सिंह जैसवारले स्थानीय तहको भूमिकाबारे आयोजित न्युज २४ को ‘सीधा कुरा मेयरसँग’ कार्यक्रममा स्पष्ट पारेका छन् । शुक्रवार पचरौता नगरपालिका अन्तर्गत बेनाैली बजारमा सम्पन्न कार्यक्रमकाे प्रत्यक्ष प्रसारण गरिएको थियो । स्थानीय तहको अधिकार, सेवा प्रवाह र विकास निर्माणका विविध पक्षमा छलफल गरिएको कार्यक्रममा सिंहले आफ्नो तिन वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन् ।
नगरप्रमुख जैसवारले नगरभित्र सुशासनसहितको समावेशी विकासमा जोड दिँदै, “सहमति, सहकार्य र पारदर्शितामार्फत विकास योजनाहरू अघि बढाइँदैछ,” भने । उनले एमबिबिएस अध्ययनका लागि एक छात्र र एक छात्रालाई वार्षिक १०/१० लाख रुपैयाँ छात्रवृत्ति दिने र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने योजना सार्वजनिक गरेका छन् । 
कार्यक्रममा सहभागी भएका वडा अध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र सूचना प्रवाह सुधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रम न्युज २४ का प्रस्तोता सुमन ढुंगानाले सञ्चालन गरेकाे पचराैता नगरपालिकाका नगर प्रवक्ता लक्ष्मी यादवले जानकारी गराएका हुन् ।






