नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुखलाई थुनामा राखि अनुशन्धान गर्न २ दिनको म्याद थप

रामबाबु मेहता
जिल्ला अदालत पर्साले नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई २ दिन प्रहरीको हिरासतमा राख्ने अनुमति दिएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका अन्सारी र साह दुबै जनामाथि थप अनुसन्धान गर्नकालागि पर्सा जिल्ला अदालतले आज २ दिनको म्याद थप गरेको हो ।
प्रहरीमा जाहेरी परेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउनका लागि मंगलबार (आज) म्याद थपका लागि एमडी शाहनवाज र ल्याब प्रमुख संजयलाई प्रहरीले अदालतमा हाजिर गराएको थियो ।
नेशनल मेडिकल अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित दुबैजनामाथि अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
थुनामा राखेर अनुसन्धान गर्न पर्सा प्रहरीले ७ दिनको म्याद मागेको थियो । तर जिल्ला अदालत पर्साले भने पहिलोपटक २ दिनको म्याद थप गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको हो । उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।






