पक्राउ पुर्जी जारी भएको २० दिनसम्म पनि पक्राउ परेनन् वडाअध्यक्ष पटेल

वीरगञ्ज – किर्ते सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको २० दिन बितिसक्दा पनि बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जितेन्द्र पटेल पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाले १० असोजमा पर्सा जिल्ला अदालतबाट अनुमति लिई किर्ते सम्बन्धी ३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी बिकाश प्रसाद यादव र संगिता देवी पक्राउ परेपनि गैरकानुनी ढंगले सिफारिस गर्ने वडाअध्यक्ष जितेन्द्र पटेल अझै पनि फरार छन् । पक्राउ पुर्जी जारी भएको २० दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु आफैमा शंकास्पद रहेको निवेदक प्रमोद प्रसाद यादवले बताए ।
नक्कली कान्छी आमा बनाएर गैरकानुनी तरिकाबाट पेन्सन बुझ्दै आएको यस प्रकरणमा वडाअध्यक्ष जितेन्द्र पटेलले प्रहरी र अदालतलाई मिलाइसकेको प्रतिक्रिया दिँदै आएका छन् । नगरपालिकाले दिएको ७८२७ नम्बरको ट्रायल होण्डा मोटरसाइकलमै वडाअध्यक्ष पटेलले आवतजावत गरीरहेको प्रत्यक्षदर्शीले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले खोजी कार्य जारी रहेको बताए । अहिलेसम्म वडाअध्यक्ष पटेललाई फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक थापाको भनाई छ ।
लगातार २ पटक वडाअध्यक्षमा निर्वाचित भएका पटेलले २०७५ सालमा पदको दुरुपयोग गरी कानूनविपरीत सिफारिश गरेका थिए । उनले स्थानीय विकाशप्रसाद यादवकी पत्नीलाई निजकै नक्कली कान्छी आमा बनाएर सिफारिस गरेका थिए । मृतक बुबाको निवृत्तिभरणको लागि आफ्नी पत्नीलाई विकाशले आफ्नी कान्छी आमा बनाएका थिए भने सो कार्यमा वडाध्यक्ष पटेलले सिफारिश गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close