मधेस प्रदेश : सवारी दुर्घटनामा मृत्यु हुने महिला र बालबालिकाको सङ्ख्या तीन गुना बढी

मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको पाइएको छ। पछिल्लो ५ महिनाको तथ्याङ्क हेर्दा सवारी दुर्घटनामा परि ज्यान गुमाउने पुरुषको तुलनामा महिला तथा बालबालिकाको सङ्ख्या तीन गुना भन्दा बढी देखिएको हो । मधेस प्रदेशमा गत साउन देखि मङ्सिर मसान्तसम्म कुल २ हजार ४ सय ९३ सवारी दुर्घटना भएको छ। दुर्घटनामा परेर ४४ जना महिला २५ जना बालबालिका तथा १८ जना पुरुषले ज्यान गुमाएको मधेस प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् । उक्त दुर्घटनामा परेर ७४६ महिला २७५ पुरुष तथा ६२६ बालबालिका घाइते भएको तथ्याङ्कमा उल्लेख रहेको छ।
यस अवधिमा मधेस प्रदेशमा ट्राफिक प्रहरीले तीव्र रूपमा कारबाही सुरु गर्दा ५ महिनामै ८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियम उलङ्घन गरी चलेका सवारीसाधनलाई कारबाही गर्दा राजस्व सङ्कलनमा वृद्धि भएको हो। प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशन अनुसार गरिएको कारबाही बाट मात्र ५ महिनाको ८ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।
प्रदेशमा बढ्दो सवारीको सङ्ख्या ,गाउँ गाउँमा बाटो निर्माण, तिब्रगती,तथा ट्राफिक नियमको पालना कम हुनुले दुर्घटना बढेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेश ट्राफिक प्रहरीले कुल २२ करोड ४४ लाख ४० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । – रातोपाटी





